
काठमाडौं, २५ पुस । आगामी फागुनमा हुने तय भएको प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशनको मिति दुई दिन पछाडि धकेलिएको छ ।
यसअघि विराटनगरमा फागुन २३ देखि २५ गतेसम्म हुने भनिएका महाधिवेशन २५ देखि २७ गतेसम्म हुने भएको हो ।
बुधबार साँझ आयोजित भर्चुअल बैठकमा बोल्दै अध्यक्ष गणेश बस्नेतले यस अघि फागुन २३ देखि २५ गतेसम्म हुने भनिएको अधिवेशन विशेष कारणले फागुन २५ देखि २७ गतेसम्म हुने जानकारी दिएका हुन् ।
बस्नेतले प्रेस चौतारी नेपालले प्रदान गर्ने पुरस्कार सिफारिसको लागि सिफारिस समिति पनि गठन भएको जानकारी दिएका छन् । पुरस्कारको घोषणा प्रेस चौतारी नेपालको स्थापना दिवसको दिन माघ २२ गते हुनेछ ।
उनले माघ २५ गतेसम्म जिल्ला अधिवेशन सिक्नु पर्ने र फागुन ७ गते प्रदेश अधिवेशन समेत सक्नु पर्ने स्पष्ट पारे । तोकिएको समयमा अधिवेशन नगर्ने जिल्ला र प्रदेशमा केन्द्रले तदर्थ समिति बनाउने पनि उहाँले स्पष्ट पारे ।
जिम्मेवारी लिने र काहीँ पनि नभेटिने प्रवृत्ति अब संगठनमा अन्त्य हुनु पर्ने बस्नेतले बताए । जिम्मेवारी लिनेले आफ्नो जिम्मेवारी अनुसार काम गर्नुपर्नेमा उनले जोड दिए ।
नेकपा एमाले स्थायी कमिटी सदस्य, प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संगठनका महासचिव हीरामान लामाले संगठनको प्रतिवेदन प्रस्तुत गरे । त्यस्तै कोषाध्यक्ष इन्द्र आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।








प्रतिक्रिया