
काठमाडौं, २४ पुस । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य, प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतमले अहिले एमाले र एमाले नेतृत्वको सरकार विरुद्ध सामाजिक सञ्जाल मार्फत घेराबन्दी गर्ने काम भइरहेको बताएका छन् ।
प्रेस चौतारी नेपालको बुधबार साँझ आयोजित जुम बैठकलाई सम्बोधन गर्दै उनले यसबाट समाजमा विभाजन र नैराश्यता बढाउने काम भएको बताउएका हुन् । ‘आज हाम्रो पार्टी मात्र होइन सिङ्गो देश यो चुनौतीसँग जुधिरहेको छ’, उनले भने ।
सूचनाको अधिकारको रक्षा गर्दै मिथ्या प्रचारलाई रोक्न सरकारका नियामक निकायले प्रभाकारी भूमिका खेल्नु पर्ने निर्णय नेकपा एमाले केन्द्रीय कमिटी बैठकले गरेको उनले जानकारी दिए । दुराशययुक्त सूचनालाई रोक्न सबैले पहल गर्नुपर्नेमा उनले जोड दिए ।
‘मिथ्या, दुराशय युक्त, झुटा सूचना मार्फत समाजमा जुन खालको नैराश्यता सिर्जना भएका छन् यी विषय गम्भीर छलफलका विषय हुनुपर्छ’, गौतमले भने ।अहिले भइरहेको चौतर्फी हमलाको विरुद्ध प्रेस चौतारी नेपाल एकताबद्ध हुने गरी सहमतिबाट नेतृत्व चयन गर्नुपर्नेमा उनले जोड दिए । ‘सहमतिको लागि अन्तिम प्रयास गरेर निष्कर्षमा पुर्याउनु पर्दछ, नेतृत्वमा आएपछि काम गर्नुपर्छ भन्ने कुराको तयारीका साथ जानुपर्छ’, उनले भने ।
प्रेस चौतारी नेपालको नयाँ नेतृत्व पत्रकारिताको राम्रो ज्ञान भएको वैचारिक नेतृत्व आउनु पर्नेमा उनले जोड दिए । जस्तोसुकै आँधी हुरीमा पनि नहल्लिने सतिसाल जस्तो नेतृत्व चयन हुनुपर्ने गौतमले बताए । प्रेस चौतारी नेपालले अन्य सबै जनसंगठनलाई सन्देश दिनुपर्नेमा उनको भनाइ छ ।









प्रतिक्रिया