३१ जेष्ठ २०८३, आइतबार

एमाले छोडेको हल्लामा सचिव भट्टको स्पष्टोक्ति : एमाले बाहिर रहने कुरा कल्पना समेत गरेको छैन

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । नेकपा (एमाले) का सचिव लेखराज भट्ट लगायतले एमाले छाडेको भन्दै सामाजिक निक्कै प्रचार गरियो । पार्टी केन्द्रीय कमिटी बैठकमा भट्ट सहभागी भइरहँदा यो प्रचार भयो । एकातिर पार्टी छाडेको प्रचार अर्कोतिर पार्टी केन्द्रीय कमिटी बैठकमा सहभागी ।

आखिर यो के हो ? भ्रम हो कि यथार्थ ?
आफूले एमाले छाडेको भन्दै गरिएको प्रचार एमाले र आफू विरुद्ध फैलाइएको सुनियोजित भ्रम र र षडयन्त्र भएको भट्टले प्रष्ट पारेका छन् । आफूले एमाले बाहिर रहने कुराका कल्पना समेत नगरेको बताउँदै भट्टले सुदूरपश्चिममा कमजोर बन्दै गएका शक्तिहरूले यस्तो भ्रम फैलाएका बताएका हुन् ।

सुदूरपश्चिममा एमालेको बढ्दो प्रभाव रोक्नका लागि भ्रम फिँजाउन यो काम भएको उनको भनाइ छ । ‘यति बेला सुदूरपश्चिममा एमाले बलियो शक्ति बनेको छ, अरू सबै कमजोर भएका छन्, त्यही भएर म माथि प्रहार गरेर मेरो राजनीतिक चरित्र हत्या गर्न सकियो भने केही गर्न सकिन्छ कि भन्ने प्रवृत्तिले अहिले भ्रम फिँजाउने काम गरिरहेका छन्’, उनले भने ।

कतिपय मानिसहरूको आफू उनीहरूसँग रहिरहोस् र उनीहरूको लागि काम गरिदेओस् भन्ने अभीष्ट भएको हुनसक्ने बताउँदै भट्टले उनीहरूको स्वार्थ अनुसार काम नगरेपछि यस्तो हर्कत गरिएको बताए ।

‘म माथिको प्रहार भनेको अहिले एमाले एमाले सुदूरपश्चिम माथिको प्रहार हो, जसरी अहिले पार्टी केन्द्रमा हाम्रो अध्यक्ष केपी ओली माथि प्रहार भइरहेको छ त्यस्तै सुदूरपश्चिममा म माथि प्रहार भएको हो, टाउकोमा नै हान्यो भने केही गर्न सकिन्छ कि भन्ने विभिन्न प्रवृत्तिका मानिसहरूलाई लागेको हुनसक्छ तर त्यो सम्भव छैन’, भट्टले भने ।

सुदूरपश्चिममा एमालेको इञ्चार्ज भएकोले आफूमाथि प्रहार गरेपछि एमालेलाई कमजोर बनाउन सकिन्छ कि भन्ने कतिपयलाई लागेको हुनसक्ने उनको भनाइ छ । ‘यही कोणबाट यी प्रवृत्तिहरूले चलखेल गरेका हुन् भन्ने मलाई लाग्छ’, उनले भने ।

यी सबै चलखेल र भ्रमलाई चिरेर सुदूरपश्चिममा पार्टीको अभियानलाई थप बलियो बनाएर लैजाने भट्टले प्रतिबद्धता पनि व्यक्त गरेका छन् । ‘पार्टीले अहिले तलसम्म काम गर्ने वार्षिक कार्ययोजना बनाएको छ, अहिले नयाँ ढङ्गले समीक्षा पनि गरेको छ, घरदैलोसम्म पुग्ने तीन महिने अभियान चलेको छ, तीन महिने अभियानमा हामी तलसम्म पुग्छौँ, यसले पार्टीलाई एकताबद्ध बनाउन र सबै खालका भ्रम चिर्न मद्दत गर्दछ’, भट्टले भने ।