२१ असार २०८३, आइतबार

नेपाली अटो बजारमा चिनियाँ इभीको बढ्दो क्रेज

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । विश्वमा कार्बन घटाउने र हरितगृह ग्यास धेरै उत्सर्जन गर्ने अभियानमा जुटेको चीनले नेपालमा विद्युतीय (इभी) गाडीको बजार बढाउँदै लगेको छ ।

केहीदिनअघि मात्र सरिना जी ट्रेड प्रालिले नेपाल ल्याएको नयाँ विद्युतीय ट्याक्सी इभीइजीको बुकिङ खुला गरेलगत्तै मंगलबार आर्ट ग्रुप प्राइभेट लिमिटेडले चिनियाँ हाइगर बसहरु हस्तान्तरण गरेको छ ।

नेपाली अटो बजारमा भारतीय, अमेरिकन तथा युरोपियन ब्रान्डका सवारी साधनले प्रभाव जमाउँदै आएपनि चिनियाँ मोडलका इभी (इलेक्ट्रिक भेइकल)ले स्थान ओगट्न थालेको छ । व्यवसायी हेमन्तराज कक्षपतिले चिनियाँ ब्राण्डका कम्पनीहरु एकदमै बलियो भएको अनुभव रहेको सुनाए । ‘बितेको दुईचार वर्षमा चिनियाँ इभी गाडी नेपालमा बढेको छ । तरपनि धोका दिन्छ कि भन्ने त्रास छ । आशा गरौं आएका कमजोरीहरु सुधारेर अघि बढ्ला भन्ने अपेक्षा छ ।’ उनले भने ।

नेपाल टुरिष्ट भेइकल एसोसिएसनका पूर्वअध्यक्ष एवं व्यवसायी मनोज श्रेष्ठले चिनियाँ इभी गाडीहरु लक्जरीयस रहेको सुनाउँदै भने, ‘चिनियाँ इभीहरुको सबै फिचरहरु राम्रा छन् । इभीको भविष्य राम्रो देख्छु । चिनियाँ इभी बसहरु थप भित्र्याउन आवश्यक छ ।’

अर्का व्यवसायी बेदराज बाँस्तोलाले चिनियाँ इभी बसको सेवा सुविधाहरु राम्रो रहेको सुनाउँदै भने, ‘नेपालमा चिनियाँ इभी बसको संख्या बढ्दै जानु पर्यटन क्षेत्रका लागि अति नै आवश्यक छ । यसको परीक्षणपछि विस्तारै अपग्रेट गर्ने काममा कम्पनीले काम गर्नुपर्छ ।’

विगतका तथ्यांकलाई हेर्ने हो भने पनि चिनियाँ इभी गाडीहरुको संख्या बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष २०८०/८१ मा निजी कार बिक्रीमा मात्र ७१.५ प्रतिशत हिस्सा इभीले ओगटिसकेको छ । गत वर्षमा चीनबाट मात्रै ८ हजार ६५ वटा इभी नेपाल भित्रिएका थिए भने गाडी भित्रिएको संख्या हेर्दा भारत दोस्रो नम्बरमा परेको थियो । नेपालमा चीन र भारत बाहेक कोरिया, अमेरिका, फ्रान्स, जापानलगायत मुलुकमा बनेका इभी भित्रिरहेपनि पछिल्लो समय चिनियाँ गाडीको संख्या बढ्दै गएको व्यवसायी राजु श्रेष्ठको भनाइ छ ।

कुल इभीमा चीनबाट आयात भएका इभीको हिस्सा ५८.३६ प्रतिशत र भारतबाट आयात भएका इभीको अनुपात ३६.१२ प्रतिशत रहेको तथ्यांकहरु सार्वजनिक भइसकेका छन् । नेपाल सरकारले विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्न लिएको कर छुट नीतिले पनि इभीप्रतिको मोह बढेको देखिन्छ ।

नेपालको अटो बजारमा चिनियाँ इभीप्रतिको क्रेज बढ्नुको अर्को कारण सस्तो मूल्यमा गाडी उपलब्ध गराउनु रहेको व्यवसायीहरुको भनाइ छ । आर्थिक वर्ष २०७३/७४ को बजेटमार्फत विद्युतीय सवारी साधन आयातमा कर छुट दिने नीतिले व्यवसायीलाई प्रोत्साहित गरेको छ ।

नेपाल सरकारले चिनियाँ गाडी आयातमा केही नियम फेरबदल गरेपनि संख्या घट्नुको साटो बढ्दै गइरहेको छ । नेपालको बजारमा केही वर्ष अघिसम्म नगन्य आयात हुने चिनियाँ कम्पनीका गाडीले अहिले वर्चस्व जमाउन थालेका हो । योसँगै भारतीय गाडीको उपस्थिति घट्नसक्ने अनुमान गरिएको छ ।

गएको आर्थिक वर्षमा कुल ३४ अर्ब ९१ करोड रूपैयाँका जिप, कार, भ्यान आयात भएका थिए । त्यसमध्ये चीनबाट मात्रै २२ अर्ब ५५ करोड रुपैयाँको आयात भएको तथ्यांक थियो भने भारतबाट १० अर्ब ९७ करोड रुपैयाँको आएको छ । यस हिसाबले पनि चिनियाँ अटो बजार नेपालमा आक्रमक भएको देखिन्छ ।