५ श्रावण २०८३, मंगलबार

नेपाली खेलाडीले छोटो अवधिमा नै अन्तर्राष्ट्रिय कीर्तिमान बनाउन सफल : प्रधानमन्त्री

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली खेलाडीले छोटो अवधिमा नै अन्तर्राष्ट्रिय कीर्तिमान बनाएको बताएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयद्वारा मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाली खेलकुदलाई छोटो समयमा नै यो अवस्थामा पुर्‍याउन सफल भएको भन्दै खुसी व्यक्त गरेका हुन् ।

खेलाडीलाई कानुन नै बनाएर सरकारले सम्मानको व्यवस्था मिलाएको ओलीले बताए । नेपालको खेलकुदको अनौपचारिक इतिहास धेरै पुरानो भए पनि औपचारिक इतिहास त्यति पुरानो नभएको ओलीले प्रष्ट पारे । ‘यो छोटो समयमा पनि अनेक प्रयास भए’, उनले भने । आजको खेल एकै पटक अहिलेको अवस्थामा नआइपुगेको बताउँदै उनले सबैको प्रयास र खेलाडीको अथक परिश्रमले अहिलेको सफलता प्राप्त भएको प्रष्ट पारे । ‘यसमा खेलाडीहरूको धेरै ठुलो प्रयासको महत्त्व छ, तर सँगसँगै पुराना अनुभवहरूको महत्त्व छ’, ओलीले भने ।

खेलकुदमा जितका लागि धेरै कुरा हुने भए पनि जितको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा खेलाडीको मनोबल नै भएको ओलीको भनाइ छ । ‘मनोबल दह्रो राख्यो भने जितिन्छ, म भन्दा जान्ने खेलाडी छ, जितिएला र भन्यो भने, पहिले नै हिम्मत हारियो भने जितिँदैन, खेल अलिक एग्रेसिभ नै खेल्नु पर्छ, एग्रेसिभ खेल भएन भने जित्न अलिक गाह्रो हुन्छ’, उनले भने । डिफेन्स गरेर मात्र खेल नजितिने बताउँदै ओलीले गोल गर्न बल हान्नै पर्ने बताए । ‘पोष्टमा हान्नै पर्छ, अनि मात्र गोल हुन्छ, डिफेन्स मात्र गरेर पल्लो पोलमा बल पुर्‍याउन सकिएन भने कसरी गोल हुन्छ रु’, ओलीले भने ।

एग्रेसिभ खेल्नको लागि छिटो र फुर्तिलो खेल हुनुपर्ने बताउँदै प्रधानमन्त्रीले यसको लागि टिम स्प्रिडमा खेल्नु पर्ने भनाइ छ । नेपाली खेलाडीको खेल छिटो र फुर्तिलो भएको भन्दै ओलीले प्रशंसा गरे । नेपाली खेल धेरै उत्कृष्ट भएको बताउँदै ओलीले नेपाली खेलाडीले जित्न नसक्ने कुनै खेल नभएको बताए ।

नेपाल सरकार मन्त्रिपरिषद्को गत मङ्सिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा आज खेलाडीलाई पुरस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको निर्देशनपछि खेल क्षेत्रमा दिइने पुरस्कारमा कर छुट हुँदै आएको छ । कार्यक्रममा साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई सम्मान र पुरस्कार प्रदान गरियो ।