
रौतहट, २३ पुस । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको बानेश्वर महादेव स्थल वरपर उत्खनन् गर्दा पुरातात्विक संरचना फेला परेको छ ।
गौर नगरपालिका वडा नं. २ स्थितमा रहेको मन्दिर वरपरको क्षेत्रमा करिब सात सय वर्ष अघिको भग्नावेश संरचना भेटिएको हो । बानेश्वर महादेव मन्दिरको पछाडि र अगाडितर्फको भागमा उत्खनन गर्दा सिम्रौनगढ राजाको समयका ईटाहरु फेला परेको पुरातात्विक विद देवेन्द्र तिवारीले बताए ।

उनका अनुसार सोही समयका गाग्री, घोडाको मकुट सहितका सामानहरु पनि भेटिएको छ । चार फिट तल उत्खनन गर्दा २८ सेन्टिमिटर लम्बाई, ३० सेन्टिमिटर चौडाई र ६ सेन्टिमिटर बाक्लो रहेको ईटा फेला परेको उनले जानकारी दिए । यो ईटा सिम्रौनगढको तत्कालीन साम्राज्यका समयका भएको उनको दाबी छ । पुरातात्विक विभागको प्रयासमा उत्खनन् थालेको दोस्रो सातामा ऐतिहासिक महत्वका भग्नावेशहरु भेटिएको हो ।
गौरमा रहेको बानेश्वर शिवालय र सोवर्णामाई मन्दिर धेरै वर्ष पुरानो मानिन्छ । यो राजा शिव सिंहले बेलामा बनाएको बताइन्छ । राजा शिव सिंह तत्कालीन तिरहुत राज्यको राजा थिए उनी सिम्रौनगढबाट शासन व्यवस्था चलाउँथे । राजा शिव सिंहको शासन १३३५ ई सम्म चलेको इतिहास रहेकाले मन्दिर त्यस पूर्व नै बनाइएको जानकारहरु बताउँछन् ।

लाल बकिया नदिभन्दा करिब ५ सय मिटर पुर्वमा रहेको मन्दिर निकै नै पुरानो र ऐतिहासिक मानिन्छ । यहाँ उत्खनन गर्दा केही पुरानो भग्नावेशहरु भेटिने अपेक्षा अनुसार पुरातात्विक विभागमा खबर गरेको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले बताए ।
पुरातात्विक विद्हरुको रोहवरमा निरीक्षण गरेर गएपछि तीन सदस्यीय टोली यहाँ उत्खनन थालेको उनको भनाई छ । उनका अनुसार उत्खनन कार्य जारी रहेकाले अझै पुराना संरचना भेटिन्छ ।

अर्को प्रसंगमा १९९० सालको भूकम्पको समयमा प्राय इनारहरुबाट बालुवा र कोइला निस्केको थियो । तर इनारको पानि भुकम्प पछि पनि पिउने लायक नै रहेकाले सोही इनारबाट हालका महादेवपट्टिका स्थानीयहरुले पानी ल्याई खाएको जनविश्वास रहेको बताइन्छ । धार्मिक पर्यटनका क्षेत्रमा यस उत्खननले धेरै टेवा पुग्ने गौर नगरपालिकाले विश्वास लिएको छ ।









प्रतिक्रिया