१५ असार २०८३, सोमबार

उखु खेतीको विकल्पमा अन्य खेती खोज्दै कृषक

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २२ पुस । रौतहटका कृषकले उखु खेतिको विकल्पमा अन्नबालीलगायतका अन्य खेती गर्न थालेका छन् । श्रीराम सुगर मिल बन्दपछि यहाँका कृषकले उखु खेती गर्न छाडेका हुन् ।

उखु खेतीबाट समयमा नै भुक्तानी  नआउने र खेतीमा लागत बढी भएपछि विकल्पमा अन्य खेती गरेका हुन् । ०४९ देखि उखु खेती गर्दै आएका वृन्दावन–७ धमौराका रुपनारायण साहले विकल्पमा अन्य खेती गर्न थालेका छन् । यो सिजनमा उखु मासेर अन्य बाली लगाएको उनले बताए ।

तीन बिघाको खेतीबाट वार्षिक १५ देखि १७ सय क्विन्टल उखु चिनी मिललाई बेच्ने गरेको बताउँदै उनले रोप्नेदेखि बिक्री गर्ने बेलासम्म हैरानी हुने बताए ।

यहाँका कृषकले चलानी, भुक्तानीमा झमेला र मल अभावले उखु खेती लगाउन छाडेका छन् । अहिले खेतमा फाटफुट मात्र देखिने गरेको छ । करिब चार वर्षअघि श्रीराम मिल बन्द भएपछि मुस्किलले ५ हजार किसानले उखु खेती गरिरहेको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले बताए ।

वार्षिक ३० लाख क्विन्टल उखु उत्पादन हुने रौतहटमा अहिले ७/८ लाख मात्र हुने गरेको उनको भनाई छ ।

श्रीराम सुगर मिल बन्द भएपनि कटहरिया नगरपालिकामा तीन वर्षदेखि बाबा वैद्यनाथ सुगर मिल सञ्चालनमा छ । गत वर्ष १५ लाख क्विन्टल उखु क्रसिङको लक्ष्य राखेको वैद्यनाथले ८ लाखभन्दा बढी उखु खरिद गर्न नसकेपछि बन्द भएको हो । रौतहटका उखु उत्पादक कृषकले श्रीराम सुगर मिल सञ्चालन गर्नु पर्छ भन्ने अडानमा छन् भने उद्योगीहरु सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको बताउँछन् ।