
चपुर, २१ पुस । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ८ सन्तपुरमा टाटा सुमोले घरमा ठक्कर दिँदा क्षति पुगेको छ । सडकमा गुडिरहेको ना१ज २०८२ नम्बरको शिखरापुर टाटा सुमो अनियन्त्रित भएर घरमा छिर्न पुगेको हो ।
चन्द्रनिगाहपुर गौर सडकभन्दा ३० मिटर पर रहेको दिनेश सापकोटाको घरभित्र सुमो छिरेको स्थानीयले बताएका छन् ।

घरको आँगनमा रहेकाहरुले भागेर ज्यान जोगाउन सफल भएको स्थानीय जनकराज भारतीले बताए । उनका अनुसार त्यस समयमा दिनेशका आमा, श्रीमती, छोराछोरी, भाउजू र भतिजी आँगनमै बसिरहेका थिए ।
अचानक सुमो आएको थाहा पाउने बित्तिकै घरका परिवारका सदस्य भागेका कारण मानवीय क्षति नभएको उनको भनाइ छ । तर घरको गारो भत्किएकाले क्षति भने भएको उनले बताए ।
प्रत्यक्षदर्शीका अनुसार टाटा सुमो चालकले मादक पदार्थ सेवन गरेकाले यो घटना भएको हो । यो घटना शनिबार दिउँसो अन्दाजी ५ बजेको समयमा भएको स्थानीय बताउँछन । चन्द्रनिगाहपुरबाट कटहरियातर्फ जाँदै गरेको अवस्थामा टाटा सुमो अनियन्त्रित भएर घरमा छिर्न पुगेको जनाइएको छ ।
मापसे गरी लापरबाही गरेर सवारी चलाउने चालकलाई हदैसम्मको कारबाही र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने स्थानीयले माग गरेका छन् ।










प्रतिक्रिया