
रौतहट, २१ पुस । केहीदिनदेखि पश्चिमी हावासँगै बाक्लो हुस्सु तथा शितलहर हुन थालेपछि रौतहटमा अत्यधिक चिसो बढेको छ । चिसो बढ्दै गएपछि ग्रामीण बस्तीहरुको जनजीवन प्रभावित बन्दै गएको छ भने बजारमा चहलपहल समेत घटेको छ ।
अधिकांश क्षेत्रलाई बिहानैदेखि बाक्लो हुस्सु र कुहिरोले ढाक्ने गरेको छ । दिउँसोपख हुस्सु केही कम भए पनि घाम भने नलाग्ने गरेको शिवनगरका सुवास मिश्रले बताए । बिहानैदेखि बाक्लो हुस्सु, शितलहरसँगै चिसो हावा चल्दा जनजीवन कष्टपूर्ण छ भने यस समयमा ब्यापार घटेका कारण पसले चिन्तित रहेको उनको भनाइ छ ।
चिसोले मानिस मात्र नभई घर पालुवा जनावरलाई समेत समस्या भएको उनले बताए । चिसोका कारण पशु तथा जनावरमा ज्वरो आउने, काँप्ने र रोगी हुने गरेको किसानहरु बताउँछन । बाक्लो कुहिरोले तेलहन, दलहन, आलुलगायतका खेतीमा असर पुगेको छ ।
चिसो बढ्दा किसान र मजदुरलाई दैनिक कामकाज गर्न समस्या परेको छ । पुसको दोस्रो सातामा आएर बढेको चिसोले न्यानो कपडा नभएका परिवारको दैनिकी असाध्य कष्टकर बनेको हो । बढ्दो चिसोले स–साना बालबालिका, वृद्धवृद्धा र अशक्त व्यक्ति प्रभावित भएको छ भने स्थानीय अस्पतालमा समेत बिरामीको चाप बढ्न थालेको छ ।
जाडोबाट सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिक वढी प्रभावित हुने भएकाले स्वास्थ्यमा ख्याल गर्न चिकित्सकहरुले सुझाव दिएका छन् । अहिले अस्पतालमा दम, निमोनिया, ज्वरो, झाडापखलालगायतका बिरामीहरु आउने गरेको प्रादेशिक अस्पताल गौरले जनाएको छ । अत्यधिक चिसो बढेपछि यहाँका मुख्य चौकमा आगो ताप्ने व्यवस्था गर्न सवसाधरणले पालिकासँग आग्रह गरेका छन् ।








प्रतिक्रिया