
रुपन्देही, २१ पुस । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडको अध्यक्षमा पुनः थानेश्वर पौडेल निर्वाचित भएका छन् । बैंकको १६औं वार्षिक साधारणसभाबाट पौडेल पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।
शुक्रबार सम्पन्न साधारणसभाले संस्थापक सेयरधनीबाट थानेश्वर पौडेल, इन्जिनियर सुरज उप्रेती र व्यवसायी वीरेन्द्र भुसाल तथा सर्वसाधारण सेयरधनीबाट वीरेन्द्र विष्ट, नम्रता भण्डारी र डा. हिमाल भट्टराईलाई सञ्चालक समितिमा निर्वाचित गरेको हो । स्वतन्त्र सञ्चालकमा प्राध्यापक गोपाल पाण्डे यसअघि नै निर्वाचित भइसकेका थिए ।
कम्पनी सचिव एवं प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलका अनुसार साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको हो ।
नवनिर्वाचित अध्यक्ष पौडेलले सहरी क्षेत्रसँगै ग्रामीण क्षेत्रमा समेत बैंकिङ पहुँच विस्तार गर्ने बताए । उनका अनुसार बैंकले पहाडी जिल्लामा शाखा विस्तारलाई प्राथमिकता दिँदै डिजिटल बैंकिङमा जोड दिनेछ ।
‘हामीले दुर्गम क्षेत्रको सेवालाई पहिलो प्राथमिकतामा राखेका छौं । डिजिटल बैंकिङमार्फत आधुनिक र सुरक्षित प्रविधिको प्रयोग गर्दै अघि बढ्नेछौं,’ अध्यक्ष पौडेलले भने ।
रूपन्देहीको मणिग्राममा सम्पन्न साधारणसभाले चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) र ३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको अधिकृत पुँजी ८ अर्ब तथा हालको चुक्ता पुँजी ४ अर्ब ७३ करोड ३६ लाख रहेको छ। बोनस सेयर वितरणपछि चुक्ता पुँजी ४ अर्ब ८७ करोड पुग्ने छ ।
बुटवलमा प्रधान कार्यालय रहेको बैंकले हाल ८८ शाखा, एक एक्सटेन्सन काउन्टर र १६ एटीएममार्फत सेवा दिइरहेको छ । बैंकमा ७ लाख ५ हजार ५८ बचतकर्ता र १७ हजार १ सय ३५ ऋणी रहेका छन् ।
७ सय ३८ कर्मचारी कार्यरत रहेको बैंकको कूल निक्षेप ६७ अर्ब १७ करोड ९५ लाख र कर्जा लगानी ५५ अर्ब ९२ करोड १० लाख रहेको छ । यस्तै, प्रति सेयर आम्दानी १४.४८ प्रतिशत र पुँजीकोष अनुपात १२.५६ प्रतिशत रहेको छ ।
लुम्बिनी प्रदेशको एकमात्र राष्ट्रियस्तरको विकास बैंक रहेको बैंकले गत वर्ष इमर्जिङ एसिया बैंकिङ अवार्डअन्तर्गत नेपालबाट बेस्ट बैंकसहित तीनवटा उपाधि र नेपालमा दुईपटक बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको अवार्ड प्राप्त गरेको थियो ।








प्रतिक्रिया