
काठमाडौं, १९ पुस । नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना सार्वजनिक गरेको छ ।
न्यूनतम बीमा शुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने अभिप्रायका साथ काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बीमा योजना सार्वजनिक गरेका हुन् ।
एक निश्चित अवधिको लागि सुरक्षा प्रदान गरी दुर्भाग्यपूर्ण घटनाको अवस्थामा आफ्नो परिवारको लागि आर्थिक सुरक्षा, सुनिश्चितता प्रदान गर्ने नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना (मुनाफामा सरिक नहुने) म्यादी जीवन बीमा हो । यसको न्यूनतम बीमाङ्क रकम पाँचलाख र अधिकतम बीमाङ्क रकम एक करोड रहेको छ ।
यो योजनामा सरिक हुन बीमितको उमेर न्यूनतम १८ वर्ष र अधिकतम ५९ वर्ष हुनुपर्नेछ । बीमा अवधि न्यूनतम १ वर्ष देखि अधिकतम ३५ वर्षसम्म हुनेछ भने बीमा समाप्तिमा बीमितको अधिकतम उमेर ६० वर्ष रहेको छ । योजनामा ऐच्छिक सुविधा (ADB, ADB/PTD/PWB) पनि न्यूनतम ५ वर्ष देखि अधिकतम ३५ वर्ष अवधिसम्म लिन सकिने भएको हो । यस योजना अन्तर्गत बीमा अवधिभित्र जुनसुकै समयमा बीमितकोे मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी गरिनेछ र बीमालेख स्वत: अन्त्यहुनेछ ।
कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यो योजना सार्वजनिक गर्न पाउँदा खुशी लागेको बताए । सामान्य सिद्धान्त अनुसार आम्दानीको १५ गुणासम्मको बीमा लिनु नितान्त आवश्यक रहेको उनको भनाइ छ ।
जोखिम बहनलाई मुख्य प्राथमिकतामा राख्दै यो म्यादी जीवन बीमा योजना सार्वजनिक गरिएको उनले बताएका हुन् । यो पोलिसीलाई मूल पोलिसीमा गाभेर बीमितलाई दिन सकिए सानो रकममा ठूलो जोखिम बहन हुने पराजुलीले बताए ।








प्रतिक्रिया