१३ असार २०८३, शनिबार

एमालेको विकल्प छैन भन्ने कुरा हरेक तथ्य प्रमाणले पुष्टि गर्‍यो : शंकर पोखरेल

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ पुस । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमालेको सिङ्गो ध्यान २०८४ को निर्वाचनमा केन्द्रित भएको बताएका छन् ।

एमाले नेपालगञ्ज उपमहानगरपालिका कमिटीद्वारा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले एमालेको नीतिलाई राष्ट्रको नीति बनाएर एमालेको एकल बहुमतको सरकार बनाउने अबको मिसन रहेको बताएका हुन् । एमालेको एकल बहुमतको सरकार नबनेसम्म देशको विकासले गति नलिने उनले स्पष्ट पारे ।

‘नेकपा एमालेको एकल बहुमतको सरकार बनाउने कुरा नै अबको हाम्रो मिसन हो, एउटा पार्टीको बहुमतको सरकार नबनी देश बन्दैन’, उनले भने । मिसन २०८४ नेकपा एमालेको लागि अवसर भएको उनले बताए । यो मिसन पूरा गर्न त्यति सजिलो नभए पनि एमालेले मिसन २०८४ मा आफूलाई निर्णायक शक्ति बनाउने सङ्कल्प गरेको पोखरेलको भनाइ छ ।

सिङ्गो देशलाई बलियो बनाउने बेलामा क्षेत्रीय पार्टीमा मत विभाजन हुनु नहुने उनले बताए । जनमतलाई एकीकृत गरेर बलियो राष्ट्रिय शक्ति नबन्दासम्म देश नबन्ने उनको भनाइ छ । अब हाम्रो जनमत नानाभाँतिका राजनीतिक दलमा विभाजित गर्ने होइन, बलियो राजनीतिक शक्ति निर्माण गर्ने कुरामा केन्द्रित हुनुपर्दछ’, उनले भने ।

गरिबी माथिको भद्दा मजाक अब राजनीतिको खेलो फड्को बन्न नहुनेमा पोखरेलले जोड दिए । समाजवादको बाटोमा अघि बढ्ने हो भने अब धेरै पार्टी होइन बलिया राजनीतिक दल आवश्यक रहेको बताउँदै उनले अब एमालेको विकल्प छैन भन्ने कुरा हरेक तथ्य प्रमाणले पुष्टि गरेको बताए । नेकपा एमालेलाई कमजोर बनाउन अनेक खालका षडयन्त्र भएका बताउँदै पोखरेलले एमालेलाई कमजोर बनाउने अन्तिम हतियारको रूपमा साइवर आक्रमण भइरहेको बताए । यसलाई चिरेर अघि बढ्न सके अब एमालेलाई कसैले कमजोर बनाउन नसक्ने उनले प्रष्ट पारे ।

बलिया पार्टी माथि कमजोर पार्टीले शासन गर्ने परम्परा विश्वमा कतै नभएको बताउँदै नेपालमा बलिया पार्टी माथि कमजोर पार्टीले शासन गर्न खोजेकाले देशका दुई ठुला पार्टी एक ठाउँमा उभिनु परेको उनले बताए । ‘नेपालमा ३२ सिट म्याजिक नं, २ सय ७५ सिटमा ३२ सिटले शासन गर्छ अब पाँचै वर्ष, यस प्रकारको भद्दा मजाक गर्ने नेता पुष्पकमल दाहाल प्रचण्ड’, उनले भने ।

अहिले पनि प्रधानमन्त्रीबाट हट्नु पर्दा प्रचण्डलाई पीडा, छटपटी औडाहा भएको उनको भनाइ छ । अझै अब म नै प्रधानमन्त्री बन्छु भन्दै प्रचण्ड मजाक गर्दै हिँड्नु भएको पोखरेलले बताए ।

पशुपतिको जलहरीको कुरा उठाएर माओवादीका नेताहरूले टनका टन सुन आफ्नो घरमा पुर्‍याएका पोखरेलले दाबी गरे। माओवादीको नेतृत्वको सरकार भएको बेला सबैभन्दा ठुला तस्करसँग माओवादी कार्यकर्ताको विवाह गराउने काम भएको पनि उनले स्मरण गराए । यस्ता व्यक्तिले आफूलाई सुशासनका नायक भनेर भद्दा मजाक गरेको उनले सुनाए ।

नेपालको राजनीतिलाई विकृत बनाउने काम माओवादीबाट भएको उनको भनाइ छ । पुरानाका दिन सकिए, जान्नेलाई छान्नु पर्छ भन्नेहरू कति जान्ने रहेछन् भन्ने कुरा पनि देखिएको उनले बताए । नैतिक, आर्थिक र सामाजिक रूपमा समेत उनीहरू विकृत भएका उनको भनाइ छ । ‘जे छोयो त्यसैमा समस्या, नागरिकता हेर्‍यो नागरिकतामा समस्या, पासपोर्ट हेर्‍यो पासपोर्टमा समस्या, व्यवसायमा लाग्यो त्यहीँ समस्या’, उनले भने ।