३० आश्विन २०८३, शुक्रबार

गगनसिंह थापाको उपन्यास ‘मेरा गाउँको खड्क्या मन्त्री’को विमोचन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टीकापुर, १६ पुस । आख्यानकार स्वर्गीय गगनसिंह थापाको नवौं कृति उपन्यास ‘मेरा गाउँको खड्क्या मन्त्री’ एक समारोहका बीच टीकापुरमा लोकार्पण गरिएको छ ।

पञ्चायती शासन व्यवस्था र प्रजातन्त्र स्थापनाको परिवेशमा विपन्न, उत्पीडित समुदायका खड्कबहादुर नेपाली र उनकी धर्मपत्नी धौंरी नेपालीलाई मुख्य पात्र बनाएर लेखिएको उपन्यासको लोकापर्ण नेपाली दम्पतीले नै गरे । गगन फाउण्डेशनले प्रकाशन गरेको उपन्यासमा खड्कबहादुर र उनको परिवारले भोगेको समस्या, पीडा, दैनिक जीवनयापनसहित कर्णाली सभ्यताको व्याख्या गरिएको छ ।

लोकार्पण कार्यक्रममा उपन्यासमाथि समीक्षा गर्दै टीकापुर बहुमुखी क्याम्पसका सहप्राध्यापक डाक्टर धनकृष्ण उपाध्यायले आख्यानकार थापाका अन्य कृतिहरु भन्दा यो कृति उत्कृष्ट रहेको दाबी गरे । ‘जित्नेहरुको इतिहास लेखिने नेपाली साहित्यमा उपन्यासमार्फत् आख्यानकार थापाले एक विपन्न परिवार, उसको संघर्ष, प्रजातन्त्र स्थापनाका लागि पुर्याएको योगदानबारे यथार्थ उजागर गरेका छ्न्’ उपाध्यायले भने ‘आमनागरिकको जीवनस्तरमा परिवर्तन ल्याउने गरी व्यवस्था आउनु पर्ने धारणा उपन्यासमा देखिन्छ ।’

चौध अध्याय रहेको उपन्यासले कर्णाली र सुदूरपश्चिम प्रदेशको आञ्चलिकतामा जोड दिएको छ । गगन फाउण्डेशनका संस्थापक हिक्मत थापाले उपन्यासका मुख्य पात्रलाई नै प्रमुख अतिथि बनाएर लोकापर्ण गर्न पाउँदा निकै खुसी लागेको बताउँदै उक्त उपन्यासको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम खड्कबहादुरको परिवारलाई हस्तान्तरण गर्ने घोषणा गरे ।

‘यो उपन्यासका मुख्य पात्रको जीवन प्रजातन्त्र स्थापनाको लामो समय भइसक्दा समेत ज्यूँका त्युँ नै छ, उपन्यासको अन्त्यमा उनको जीवन सुखमय भएको कल्पना उपन्यासकारले गरेका छन्,’ थापाले भने ‘थोरै भए पनि उनलाई राहत पुगोस् भन्नका लागि यो उपन्यासको सम्पूर्ण बिक्री रकम नेपालीको परिवारलाई हस्तान्तरण गर्नेछौँ ।’

गगन फाउण्डेशनका संस्थापक थापाको अध्यक्षतामा भएको लोकापर्ण कार्यक्रममा देवकोटा साहित्य कला परिवारका अध्यक्ष बलबहादुर रावल तथा कालुप्रसाद काफ्लेले उपन्यासबारे बोलेका थिए ।

कार्यक्रममा दैलेखका दिलिप आचार्यले पुस्तक बिक्रीबाट संकलन गरेको १० हजार रुपैयाँ समेत नेपालीको परिवारलाई हस्तान्तरण गरिएको थियो ।

टीकापुर नगरपालिका वडा नं. १ को सुकुम्बासी बस्तीमा अस्थायी टहरामा बस्दै आएका नेपालीले बजार क्षेत्रमा मागेर जिविकोपार्जन गर्दै आइरहेका छन् ।

आख्यानकार स्वर्गीय थापाका यसअघि अस्ताचलको ढोकाबाट, कर्णालीको छेउछाउ, पूर्खाको चिठी गरी आठ वटा कृति प्रकाशित छन् ।