२९ असार २०८३, सोमबार

शिक्षालाई श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्छ : उपराष्ट्रपति यादव

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-अन्जनी कुमार अधिकारी

उदयपुर, १५ पुस । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई साक्षरतामा मात्रै सीमित नराखी यसलाई श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्ने बताएका छन् ।

सोमबार उदयपुर चौदण्डीगढी नगरपालिका–८ स्थित सरस्वती मावि सावाको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पछिल्लो समय बदलिँदो विश्व परिवेश र प्रविधि युग अनुरुप शिक्षा प्रणाली, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण विधि र शिक्षण सिकाइ क्रियाकलाप आदि परिस्कृत र परिमार्जित गर्दै व्यवहारिक बनाउन उत्तिकै आवश्यक रहेकोसमेत उल्लेख गरे ।

उपराष्ट्रपति यादवले समाजमा सबैमा समानताको भावना जागृत गर्न एवम् देशको विकास र समृद्धिमा सहयोग गर्न पनि शिक्षालाई आजको आवश्यता अनुसार परिमार्जन गर्दै लैजानु पर्नेमा जोड दिए । शिक्षा भनेको समाजको आधारभूत स्तम्भ भएको बताउँदै उनले शिक्षाले मानिसलाई आत्मनिर्भर, सशक्त र सचेत नागरिक बनाउने बताए । ज्ञान, सही व्यवहार र सीप एवम् विद्या प्राप्त गर्ने महत्वपूर्ण प्रक्रिया पनि शिक्षा रहेको उनको भनाइ थियो ।

उपराष्ट्रपति यादवले हामीलाई जीवनको कठिन समयमा चुनौतीहरुको सामना गर्नसमेत शिक्षाले सहयोग गर्ने बताए । उनले शहरमा शिक्षा प्राप्त गर्न सजिलो भएपनि दुर्गम गाउँमा अझै पनि धेरैको पहुँचमा यो नरहेको उल्लेख गर्दै खासगरी छोरी चेलीहरुलाई कम उमेरमै शिक्षाबाट बञ्चित गराएको अझै पनि पाइने गरेकोले यसतर्फ सबैको ध्यानाकृष्ट हुन जरुरी रहेको बताए ।

उपराष्ट्रपति यादवले दुर्गममा भएर पनि सरस्वती माविले शिक्षाको महत्वपूर्ण उद्देश्यहरूलाई आत्मसात गर्दै गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्नमा सहयोगी भूमिका निर्वाह गरिरहेकोमा विद्यालयको प्रशंसा समेत गरे ।

कार्यक्रममा संघीय सांसद डा. नारायण खड्का र चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामालगायतले शुभकामना मन्तव्य राखेका थिए ।