
काठमाडौं, १४ पुस । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउने र दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ ।
विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउन र इन्टरनेटको प्रयोगमा सहजता ल्याउन टेलिकमले देशभरका १ सय सरकारी तथा सामुदायिक विद्यालयहरूमा ५० एमबीपीएस गतिको एफटीटीएच इन्टरनेट सेवा एक वर्षसम्म निःशुल्क उपलब्ध गराएको जानकारी दिएको छ ।
त्यसैगरी, कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत एफटीटीएच इन्टरनेट सेवा नपुगेका स्थानका विद्यालयहरूमा नमस्ते वाइफाइ राउटरसहितको फोरजी इन्टरनेट प्याकेज उपलब्ध गराएको छ । यस कार्यक्रमअन्तर्गत सातै प्रदेशका ५० विद्यालयहरूले एक वर्षसम्म निःशुल्क इन्टरनेट सेवा प्राप्त गरेको कम्पनीले जनाएको छ ।
टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लामो समयदेखि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । व्यावसायिक गतिविधिहरू सञ्चालन गर्दा कम्पनीले सामाजिक उत्तरदायित्व प्रतिको प्रतिबद्धतालाई सधैं प्राथमिकतामा राख्दै आएको टेलिकमले जनाएको छ । विगतका आर्थिक वर्षहरूदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गतका पुराना कार्यक्रमहरूलाई निरन्तरता दिँदै थप नयाँ कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको कम्पनीले जनाएको छ ।
हाल कम्पनीले गरेको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका मुख्य कार्यहरू निम्न छन् :
हरियाली संरक्षण तथा वृक्षरोपण: नेपाल टेलिकमले काठमाडौंको माइतीघरदेखि तिनकुने सम्मको सडक खण्डमा हरियाली संरक्षण तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गर्दै आएको थियो । यस अन्तर्गत मौसमी फूलका बिरुवाहरू रोप्ने, रुखहरू तथा दुबो रोप्ने, गोडमेल गर्ने र काँटछाँट गर्ने लगायतका सुन्दरता अभिवृद्धि गर्ने क्रियाकलापहरू सञ्चालन गरिएका थिए ।
विद्यालयमा विभिन्न भौतिक तथा शैक्षिक सामग्री वितरण: नेपाल टेलिकमले निरन्तर रुपमा नेपाल भरिका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरूमा फर्निचर, कम्प्युटर, झोला, ट्रयाकसुट लगायतका विभिन्न भौतिक तथा शैक्षिक सामग्रीहरू उपलब्ध गराएको छ । साथै देशभरका २० जिल्लाका १/१ सरकारी र सामुदायिक विद्यालयमा महिला स्वास्थ्यमा सहयोग पुग्ने गरी महिला स्वास्थ्य सामग्री सेनेटरी प्याड भेन्डिङ मेसिन उपलब्ध गराइएको छ ।
वातावरण सरसफाईः धार्मिक मठ मन्दिर, पुरातात्विक एवम् पर्यटकीय स्थल, बसपार्क, सार्वजनिक पार्क तथा बगैंचा लगायतका महत्वपूर्ण सार्वजनिक स्थलहरूमा आवश्यकता बमोजिम डस्टबिन वितरण गरिएको छ ।
वृद्धाश्रम, बाल आश्रम लगायतका संरक्षणस्थलमा सहयोग: सातवटै प्रदेशका वृद्धाश्रम, बाल आश्रम, फरक क्षमता भएका व्यक्तिहरूलाई संरक्षण गर्ने संस्था तथा सामुदायिक केन्द्रहरूमा भोजन एवम् न्यानो कपडा र ब्ल्यांकेट सहयोग गरिएको छ ।
अस्पतालमा बेड कम चेयर वितरण: नेपाल टेलिकमले नेपालको सबैभन्दा पुरानो अस्पताल वीर अस्पताल लगायत अन्य सरकारी तथा सामुदायिक अस्पतालमा आउने बिरामीका कुरुवाहरूले आराम गर्न सहज होस् भन्ने उद्देश्यले बेड कम चेयर उपलब्ध गराएको छ ।
विद्यालयमा इन्टरनेट सेवा: नेपाल टेलिकमले विद्यालयहरूमा पटनपाठन कार्य सहज होस् र विद्यार्थीले इन्टरनेटको सहज प्रयोग गर्न सकुन् भन्ने उद्देश्यले एफटिटिएच सेवा पुगेका देशभरका विभिन्न १०० ओटा सरकारी तथा सामुदायिक विद्यालयहरूमा ५० एमबिपिएस गतिको एफटिटिएच इन्टरनेट १ वर्ष सम्मका लागि निःशुल्क उपलब्ध गराएको छ । त्यसैगरी एफटिटिएच सेवा नपुगेका ७ वटै प्रदेशका विभिन्न ५० ओटा सरकारी तथा सामुदायिक विद्यालयहरूमा १ वर्ष सम्मका लागि नमस्ते वाईफाई (डब्ल्यूबिबी) राउटर सहितको फोरजी इन्टरनेट प्याकेज निःशुल्क उपलब्ध गराएको छ ।
यसका साथै सामाजिक उत्तरदायित्व अन्तर्गतका अन्य कार्यक्रमहरू निम्न छन्:
-फरक क्षमता भएका व्यक्तिहरूलाई छुट्टै प्याकेज सहितको नि:शुल्क प्रिपेड सिमकार्ड वितरण
-नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण लगायतका संस्थाहरूको सिफारिसमा विभिन्न पर्व, अवसर तथा विपत्तिको समयमा नि:शुल्क कलर रिङ्गटोनको प्रसारण कार्य
-गणतन्त्र दिवस, संविधान दिवस लगायतका पर्व, अभियान, सम्मेलन तथा प्राकृतिक विपद्का समयमा सूचना तथा अन्य जानकारी मूलक सन्देशहरू नि:शुल्क बल्क एसएमएस मार्फत प्रवाह
-गत वर्षको जाजरकोट भूकम्पबाट प्रभावित जनसमुदायको लागि ब्ल्याङ्केट, टेन्ट लगायतका राहत सामग्री उपलब्ध गराइएको
-गत असोजको पहिरो तथा डुबान पीडितहरूलाई राहत वितरण कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग ।















प्रतिक्रिया