३१ असार २०८३, बुधबार

सुमो दुर्घटनामा गम्भीर घाइते राईको उपचारका क्रममा मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, ११ पुस । सुमो दुर्घटनामा गम्भीर घाइते केपिलासगढी गाउँपालिका–१ फेदीका ७२ वर्षीय दुर्गाप्रसाद राईको उपचारका क्रममा मृत्यु भएको छ ।

काठमाडौंबाट यात्रु लिएर आउँदै गरेको ना१ज ७१८१ नंको सुमो केपिलासगढी गाउँपालिका–३ बास्पानीस्थित राँटीमा बुधबार दुर्घटना हुँदा गम्भीर घाइते भएका राईको जिल्ला अस्पताल खोटाङमा ल्याएर उपचार गर्ने क्रममा मृत्यु भएको हो ।

राईलाई दुर्घटनास्थलबाट अचेत अवस्थामा उद्धार गरेर गाउँपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि अस्पताल ल्याइएको थियो । राईको टाउको तथा शरीरका विभिन्न अङ्गमा गहिरो चोट लागेकाले बचाउन नसकिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा रुपेश सङ्ग्रौलाले बताए ।

सडकमै रोकेर राखेको सुमो आफैँ गुडेर दुर्घटना भएपछि फरार भएका सुमो चालक ऐँसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देल निवासी ३६ वर्षीय शत्रुधन राई प्रहरी चौकी खार्मीको सम्पर्कमा पुगेका थिए । प्रहरीको सहारामा जिल्ला प्रहरी कार्यालय आइपुगेका चालक राईलाई जिल्ला अस्पताल खोटाङ लगेर स्वास्थ्य परीक्षण गरेपछि हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिएका छन् ।