
काठमाडौं, १० पुस । कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्को हालै सम्पन्न अनलाइन निर्वाचन प्रक्रियामा धाँधली भएको दाबी गरिएको छ ।
२०२४ अक्टोबर ९ मा सम्पन्न भएको समाजको चौथो अधिवेशनपछिको गत १५/१६ डिसेम्बरमा सम्पन्न भएको कथित अनलाइन निर्वाचनमा धाँधली भएको प्रमाण प्राप्त भएको भन्दै समाजको संरक्षक परिषद्को बैठकले निर्वाचनमा धाँधली भएको निष्कर्ष निकालेको हो ।
समाजको संरक्षक परिषद्को बैठकले वर्तमान निर्वाचन प्रक्रिया रद्द गर्ने र आगामी दिनमा भौतिक उपस्थितिमा पोखरामा अधिवेशन गर्ने निर्णय पनि गरेको छ ।
बैठकले युवराज अधिकारीको संयोजकत्वमा २५ सदस्यीय आयोजक समिति गठन गरेको हो । समितिमा विशाल ढुंगना, विकास पौडेल, अमर साप्कोटा, शान्ति अधिकारी, शिव बाँनिया, नेत्र केसी, केदार कुँवर, गोविन्द तिमिल्सिना, भगवान गिरी, मोहन गौतम, प्रभात त्रिपाठी, विकास अधिकारी, मनप्रसाद रानामगर, विश्व सुवेदी, दीपक सुवेदी, दीपक बस्नेत, प्रेम क्षेत्री, रमेश खत्री, पूजा शाह, लक्ष्मी गिरी, हरि ढकाल, हरिविनोद अधिकारी, चीन क्षेत्रीसहित राष्ट्रिय कमिटीका अध्यक्षहरु पदेन सदस्य रहने गरी आयोजक कमिटी निर्माण गरेको हो ।
संरक्षक परिषद्का प्रमुख गोविन्द पौडेलका अनुसार बैठकमा उपस्थित सम्पूर्णको राय, सल्लाह र सुझावलाई मध्यनजर गर्दै अनलाइन निर्वाचनमा धेरै नै समस्याहरु देखिएको र फेरि पनि अनलाइन भोटिङबाट दीर्घकालीन समस्याको समाधान हुने नदेखिएकाले आगामी निर्वाचन यथाशीघ्र छिटो र भौतिक उपस्थितिमा कास्कीको पोखरामा अधिवशन गर्ने निर्णय भएको हो ।
बैठकले समाजलाई यहाँसम्म ल्याउन योगदान पुर्याउने सिता बराल नेतृत्वको कार्यसमिति र निर्वाचन समितिका अध्यक्ष चित्र सुवेदीलगायत सबै पदाधिकारीहरूलाई धन्यवाद व्यक्त गरेको छ ।
योसँगै समाजको आयोजक समिति बाहेकका सबै संरचनाहरू विघटन गरिएको पनि संरक्षक परिषद्ले जनाएको छ । नयाँ अधिवेशनको मिति र निर्वाचन कार्यक्रम आयोजक समितिले तय गर्ने बताइएको छ ।








प्रतिक्रिया