
पोखरा, १० पुस । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी सल्लाहकार परिषदको प्रथम बैठक बुधबार पोखरामा सम्पन्न भएको छ ।
बैठकको पार्टी स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेश कमिटी इन्चार्ज किरण गुरुङले उद्घाटन गरेका थिए । बैठकलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य गुरूङले आगामी निर्बाचनमा पार्टीलाई बहुमत प्राप्त पार्टी निर्माणमा सल्लाहकारहरूको महत्वपूर्ण भूमिका रहने र त्यसका लागि हर तरहले लागि पर्न आग्रह गरेका छन् ।
पार्टी सरकारमा रहेको बेला सकारात्मक उपलब्धीको प्रचारप्रसार सहित पार्टीलाई दिशानिर्देश गर्न उनले आग्रह गरेका हुन् । पार्टीका कार्यकारी कमिटीका संरक्षकका रूपमा रहेका सल्लाहकारहरूको सृजनात्मक सुझावले पार्टीको कमजोरी हटाउदै नयाँ उचाई निर्माणमा सहयोगी हुने उनको धारणा छ ।
नेता कार्यकर्ताको सबलीकरणमा र सरकारका अंगहरूको प्रभावकारितामा समेत सल्लाहकारहरूको महत्वपूर्ण भूमिका रहने उनले बताएका हुन् । पार्टी विरुद्धका कुनै पनि प्रकारका आक्रमण र अतिवाद परास्त गर्न प्रष्ट योजनासहित कार्य सम्पादनमा उत्रन आग्रह गर्दै इन्चार्ज गुरुङले वास्तबिक परिणाम निस्कने गरी हरेक तहका कार्यकर्ता लाग्नु पर्नेमा जोड दिए ।
बैठकमा प्रदेश कमिटीका सचिव धनन्जय दवाडी, उपसचिव मन्जु अधिकारी, सल्लाहकार परिषदका अध्यक्ष मोहन रेग्मी सहितले पार्टी नीति, कार्यक्रम र सल्लाहकारको भूमिका सन्दर्भमा मन्तब्य ब्यक्त गरेका थिए । एमाले प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न बैठकमा सल्लाहकार परिषदका सदस्यहरूलाई सपथ ग्रहण समेत गराइएको थियो ।










प्रतिक्रिया