
काठमाडौं, ९ पुस । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीति अनुरुप बैंकले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।
सोहीअन्तर्गत महालक्ष्मी विकास बैंकको लालबन्दी शाखाद्धारा रोटरी क्लब अफ ठमेल काठमाडौं र रोटर्याक्ट क्लब अफ थेम्स इन्टरनेशनल कलेजको संयुक्त पहलमा गरिएको ‘परियोजना न्यानो’अन्तर्गत मंसिर १३ गते ईश्वरपुर नगरपालिका वडा नं. २, सर्लाहीका सीमान्तकृत मुसहर समुदायलाई न्यानो डस्ना, ब्ल्याङ्केट र कपडाहरु वितरण गर्न आर्थिक सहयोग गरेको छ ।
त्यसैगरी, बैंकको राजापुर शाखाद्वारा मंसिर २२ गते देखि २९ गतेसम्म धार्मिक सप्ताह श्रीमद् भागवत ज्ञानमहायज्ञ सञ्चालन भएकोमा अमर शहीद बहुमुखी क्याम्पससँगको सहकार्यमा त्यस अवधिभर जथाभावी भएको फोहोर संकलन तथा क्याम्पस रोड र क्याम्पस परिसर भित्र सरसफाई गर्न तथा फोहोरमैलाहरु व्यवस्थापन गर्न डस्टबिनहरु वितरण गरेको छ ।

राजदेवी सांगीतिक समुह, कलैया बाराले कलैया उपमहानगरपालिका, वडा नं. १ स्थित राजदेवी माता मन्दिरको प्राङ्गणमा आयोजना गरेको रक्तदान कार्यत्रममा आवश्यक पर्ने फलफुल, जुस, साउण्ड सिष्टम, मिठाईलगायतका सामाग्रीहरु खरिद गर्न बैंकले आर्थिक सहयोग गरेको छ । बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरुबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।








प्रतिक्रिया