३१ असार २०८३, बुधबार

आधा किलो सुनसहित २ भारतीय नागरिक पक्राउ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, ८ पुस । धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहबाट पाँच सय ४९ दशमलव दुई ग्राम अवैध सुनसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतको उत्तर प्रदेश मोहला बजार–२ पलियाकला खिरीका दीपक गुप्ता र सोही ठाउँका सुमित बर्मालाई अवैध सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता एवं प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

उनका अनुसार प्रहरी उपरीक्षक पदमबहादुर विष्टको कमान्डमा खटिएको प्रहरी टोलीले ट्राफिक चौराहबाट भारतको पलियाकला खिरीका गुप्ताले चलाएको उत्तरप्रदेश ३२ जेभी ९२०० भारतीय नम्बर प्लेटको कार शंका लागेर चेक गर्दा कारभित्र राखिएको ज्याकेटको खल्तीमा लुकाईछिपाई राखेको पाँच सय ४९ दशमलव दुई ग्राम सुन जस्तो देखिने पहेँलो धातुका काटिएका टुक्रा दुई थान र सरसमान बरामद गरेको हो ।

प्रहरीले उनीहरूका साथबाट सुनसहित लेनोभो ल्यापटप एक थान, रियलमी र रेडमी मोबाइल दुई थान, नेपाली नगद रु ४४ हजार आठ सय १०, भारतीय एक हजार दुई सय ८० रुपैयाँ र उत्तरप्रदेश ३२ जेभी ९२०० नम्बर प्लेट भएको सुजुकी कार बरामद गरेको छ । बरामद गरिएको समान र पक्राउ गरिएका दुवैजनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।