
काठमाडौं, ७ पुस । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरतालाई समाप्त पार्न नेपाली कांग्रेससँग सहकार्य गर्नु परेको बताएका छन् ।
नेपाल बुद्धिजीवी परिषद्को शनिबार यहाँ आयोजित छैटौं केन्द्रीय बैठकमा उनले राजनीतिक स्थायित्वका निम्ति कांग्रेससँग गठबन्धन गर्नुपरेको बताए । ‘अब देशमा अस्थिरतालाई समाप्त पार्ने, राजनीतिक स्थायित्व कायम गर्ने तथा आवश्यकताअनुसार संविधान संशोधन गर्दै संरचनागत सुधारका लागि दुई ठूला पार्टी मिलेका हुन् । प्रमुख पार्टीले मिल्नु परेको हो,’ उनले भने ।
प्रमुख दुई पार्टी मिलेर बनेको वर्तमान सरकारलाई असफल हुने छुट छैन भन्दै महासचिव पोखरेलले सरकारलाई सफल बनाउन पार्टीका वरिष्ठ नेताहरुले सक्रियतापूर्वक आ-आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले एमालेलाई अझ सुदृढ एवं संगठित बनाउन नेता तथा कार्यकर्ताको सहयोग आवश्यक भएको विचार व्यक्त गरे ।
परिषद्का अध्यक्ष प्रा.डा. दिनेशचन्द्र देवकोटाले अराजक गतिविधि रोक्न एमाले मात्र नभई सबै राजनीतिक दल र नागरिक समाज पनि लाग्नुपर्छ भने ।








प्रतिक्रिया