
काठमाडौं, ६ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा फेरि मंकीपक्सको संक्रमित भेटिएको जानकारी दिएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यो नयाँ केस पुष्टि भएपछि सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यो नयाँ केस साउदी अरेबियाबाट फर्किएका तनहुँका ३६ वर्षीय एक पुरुषमा शुक्रबार पुष्टि भएको हो । उनी खटिराको समस्या लिएर पुस ४ गते काठमाडौंको ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारका लागि गएका थिए । अस्पतालले एम्पक्ससँग मिल्दोजुल्दो शंकास्पद लक्षण देखेपछि उनलाई शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको आइसोलेशनमा राखिएको थियो । त्यहाँ संकलन गरिएको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षण गर्दा शुक्रबार मंकीपक्स पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार परीक्षण पोजिटिभ भएतापनि बिरामीको स्थितिमा कुनै जटिलता छैन र उनी चिकित्सकको निगरानीमा निरन्तर उपचाररत छन् । यो नेपालमा मंकीपक्स पुष्टि भएको दोस्रो केस हो ।
मन्त्रालयले सर्वसाधारणलाई सचेत रहन र मंकीपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएमा तुरुन्त अस्पताल गई चिकित्सकको सल्लाह लिन आग्रह गरेको छ । साथै, मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गरी परामर्श लिन पनि अनुरोध गरिएको छ ।









प्रतिक्रिया