
मकवानपुर, १ पुस । मकवानपुरको मनहरी गाउँपालिका-९ खरङ्गामा स्कारपियो कार दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
आज बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत निजगढबाट चितवनतर्फ जाँदै गरेको प्रदेश ३-०१-२२ च ६८६२ नम्बरको स्कारपियो आफैँ अनियन्त्रित भई सडक बायाँ साइडमा रहेको विद्युतको पोलमा ठक्कर खाँदा सडकबाट अन्दाजी ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा चालक बाराको निजगढ-७ बस्ने ४५ वर्षीय धनबहादुर स्याङतान, उनकी श्रीमती ३८ वर्षीय हरिमाया लामा, छोरा १३ वर्षीय यरोश तामाङ र बाराकै ३३ वर्षीया सबु लामा घाइते भएकी छन् ।
घाइतेहरुलाई मनहरी अस्पताल पठाइएकोमा सामान्य उपचार पश्चात थप उपचारका लागि भरतपुर चितवनतर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ ।








प्रतिक्रिया