
हेटौंडा, २९ मंसिर । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले एमालेलाई कमजोर बनाउन विदेशी शक्ति सक्रिय रहेको बताएका छन् । शनिबार एमाले हेटौंडा उपमहानगरपालिका कमिटीको दोस्रो पालिका अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै बर्तौलाले यस्तो बताएका हुन् ।
उनले देशी-विदेशी शक्ति एमालेलाई कमजोर पार्न निरन्तर लागिरहेको भन्दै सशक्त ढंगबाट आफूहरूले प्रतिवाद गर्न आवश्यक रहेको बताए । उनले एमालेसँग जोडिएका कुनै पनि नेता कार्यकर्ताहरुले गल्ती गरेको अवस्थामा तत्कालै कारबाही गरिने गरिएको भन्दै नयाँ आएको पार्टी रास्वपाले धेरै आरोपका बावजुद हिरासतबाटै पार्टी चलाइरहेको टिप्पणी गरे ।
यसैगरी, कार्यक्रममा बोल्दै बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले पार्टीका कार्यकर्ताहरू आत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्ने बताए ।
उनले २०७९ को स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरमा पनि आफूहरूले हार ब्यहोर्नु राम्रो संकेत नभएको भन्दै कार्यकर्ताहरुले आत्मसमीक्षा गरेर मात्र नेतृत्वमा आउनुपर्ने बताए ।
एमाले नेता पौडेलले नेतृत्वमा को जान्छ र जाँदैन भन्नेभन्दा पनि गल्ती र कमी कमजोरीहरूलाई कसरी सच्याएर र सचिएर अघि बढ्ने भन्ने कुरामा जोड दिए ।








प्रतिक्रिया