२० असार २०८३, शनिबार

दमक व्यापारिक कम्प्लेक्स : कोशीबासीलाई भव्य उपहार

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–युवराज बास्कोटा

शिलान्यास भएलगत्तै विभिन्न नाम र उपनामले चर्चा कमाएको दमक व्यापारिक कम्प्लेक्सको औपचारिक समुद्घाटन सम्मानीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीका बाहुलीबाट भएको छ ।

झापाको दमक नगरपालिका–३, दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन गर्दै प्रधानमन्त्री ओली

समुद्घाटन समारोहमा सरकारका वरिष्ठ उपप्रधानमन्त्री माननीय प्रकाशमान सिंहसहित गन्यमान्यजनको उपस्थितिले यसको भव्यता आफैंमा प्रकट भएको छ ।

सरकारको प्रधानमन्त्री नै स्वयं छिमेकी पालिकामा आउनुहुने पक्कापक्की भएपछि विभिन्न शीर्षकका कामको सहज व्यवस्थापन गर्दै कार्यस्थलतिर जान लाग्नुभएका कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारीको सहयोगमा समुद्घाटन समारोहमा सहभागी हुने सुनौलो औसर मिल्यो । दाजु पार्थबहादुर बुढाथोकी, दानबहादुर बस्नेत र हरिप्रसाद अधिकारीसँगको सहयात्रा निकै रमणीय थियो ।

झापाको दमक नगरपालिका–३, दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको शिलापत्र अनावरण गर्दै प्रधानमन्त्री ओली

गिज्याउने, खिसिट्युरी गर्ने र परस्पर तेजोबध गर्न उद्यत रहनेले विषयवस्तुलाई जे–जसरी उछाले पनि, सकारात्मक सोच र सोचसञ्चार अभावमा छुद्र र खुद्रातर्क गरिएका कारण जे–जे कुरा सुने पनि यो व्यापारिक कम्ल्पेक्सलाई नजिकैबाट पढेपछि संघीय सरकारको तर्फबाट हामी कोशीबासीले उपहारस्वरुप पाएको यो अमूल्य सम्पदा हो ।

दमक–३, दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्स । प्रधानमन्त्री ओलीबाट उद्घाटन भएको यो १८ तले कम्प्लेक्स एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार रुपैयाँ लागतमा बनेको हो । चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको नेपालकै अग्लो टावर रहेको यो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा रहेको छ ।

यो झापाको दमकका लागि मात्र नभएर समयक्रममा हाम्रो परिचय बटुल्ने, कमाउने र जमाउने सार्वजनिक महत्त्वको विषयवस्तु हो भन्ने निष्कर्ष यसरी निकालेँ ।

१) देशमै पहिलोपटक झापामा यो उचाइ र महत्त्वको संरचना बनेको छ । झापाको पुरानो र ऐतिहासिक शहर दमकले अत्याधुनिक स्वरुप बोकेको दीर्घ जीवनपर्यन्त रहने भव्य संरचना पाएको छ ।

२) नेपालबाहेक भारतको सिक्किम, बिहार, बंगाल सीमावर्ती क्षेत्रसमेत आकर्षित रहन सक्ने यो टावरबाट सामाजिक समृद्धिको परिचयका अलाबा आर्थिक पक्षको विकासमा टेवा हालेको छ, पर्यावरणीय महत्त्वका दृष्टिकोणले सन्तुलन कायम गर्ने भएको छ र प्राकृतिक सौन्दर्यले आकर्षित हाम्रो सांस्कृतिक छवि क्रमशः उठ्ने छ ।

३) स्थानीय उत्पादनहरूको बिक्री हुने भएको छ । बजार नपाएर भौतारिएका स्थानीय उत्पादकहरू अब उत्साहित हुनेछन् । पर्यटकको आगमनले होटल, रेस्टुरेन्ट, यातायात सेवालगायत क्षेत्रमा रोजगार सिर्जना हुने भएको छ ।

४) व्यवसायिक टावरले दमक र उर्लाबारीलाई झलमल बनाएको छ । आयआर्जनको स्रोत बढाएको छ । सयौँ मानिसले रोजगार पाउने नै छन् । स्थलगत पहिचान र परिचय कमाउने छन् । के यो सामाजिक सञ्जालमा लेखिए झैँ, कसैले लेखेको देखिए झैँ नकारात्मक अग्रसरता हो त ? नकारात्मक निर्माणको प्रतिक हो त ?

५) एउटा समय थियो– टावर भन्नेबित्तिकै यसलाई हेर्न देशभित्र होइन, देशबाहिर पनि मानिसको घुइँचो लाग्थ्यो । अहिले टावर मात्र होइन, व्यवसायिक प्रयोजनका लागि अन्तर्राष्ट्रिय स्तरको यो संरचना बनेको छ । यसलाई हाम्रो चेतनाले किन ग्रहण गर्न सक्दैन ?

६) काठमाडौंको धरहरा, भेडेटार र कन्यामको स्काइवाक जस्तै संरचना हो यो व्यवसायिक कम्प्लेक्स । यसमा बहुउपयोगिता पनि देखियो । यसबाट स्काइवाक र बञ्जीसमेत गराउन सके पर्यटकीय महत्त्वका हिसावले आकर्षणको केन्द्र बन्न सक्छ दमक । यसतर्फ मानिस किन सोच्दैन ? बरु तेजोबधतर्फ उन्मादमा देखिन्छ ।

७) शहर विकास अर्थात् शहरीकरणको प्रक्रियालाई पनि फराकिलो र फाँटिलो उपस्थितिमा यहिबाट सञ्चालनमा ल्याउन सकियो भने राजश्व, करलगायतका विषयमा हुने आम्दानी पारदर्शी हुन्छ र स्थानीय विकासमा टेवा पुग्छ । हिजो धरहरा पुननिर्माणको आलोचन गर्नेले अहिले यसबाट भइरहेको औसत लोभलाग्दो कमाइबाट मख्ख पर्ने गरेका छन् ।

सुदूरपूर्वको झापाको दमकमा जे भएको छ, राम्रो भएको छ । समुद्घाटित यो भव्य व्यवसायिक कम्प्लेक्स सञ्चालनमा अभूतपूर्व सफलताको शुभकामना !

युवराज बास्कोटा