
काठमाडौं, २१ मंसिर । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग अन्तर्गत आज भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कीर्तिमानी जित हात पारेको छ ।
लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै लुम्बिनी विजयी भएको हो । पोखराका लागि ओपनर आन्द्रेस गौसले नट आउट रहँदै सर्वाधिक १ सय ४ रन बनाए । उनले ५५ बलमा १२ चौका र ५ छक्का प्रहार गरेका थिए । लिगको इतिहासमा नै पहिलो शतक गौसले ५४ बलमा पूरा गरेका थिए ।
पहिलो विकेटका लागि गौसले दिनेश खरेलसँग मिलेर १ सय ७६ रनको नट आउट साझेदारी गरेका थिए । यो एनपीएलमा भएको सर्वाधिक रनको साझेदारी हो । यसअघि जनकपुरका लाहिरु मिलन्था र हर्ष ठाकरले विराटनगरविरुद्ध तेस्रो विकेटका लागि नट आउट १ सय १६ रनको साझेदारी गरेका थिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७० रनको योगफल तयार गरेको थियो ।
लुम्बिनीका कप्तान रोहितले सर्वाधिक ९५ रन जोडे । उनले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरे । लिगमा पहिलो अर्धशतक रोहितले ३५ बलमा पूरा गरेका हुन् । उनले एनपिएलको एकै इनिङमा व्यक्तिगत उच्च रन बनाए । यसअघि जनकपुर बोल्ट्सका लाहिरु मिलन्थाले विराटनगर किंग्सविरुद्ध ७५ बनाएका थिए ।
लुम्बिनीको चौथो विकेटका लागि रोहित र टम मुर्सले १ सय १० रनको साझेदारी गरे । मुर्सले ३८ बलमा २ चौका र २ छक्काको सहयोगमा ४५ रन बनाए । मुर्स रेमन रिफरको बलमा रन आउट भए । पोखराका लागि विपिन खत्रीले २ तथा म्याट क्रिचलीले १ विकेट लिए ।
लगातार दुई खेलमा पराजित पोखराको यो पहिलो जित हो । पोखरा पहिलो खेलमा चितवन राइनोजसँग तथा दोस्रो खेलमा जनकपुरसँग पराजित भएको थियो ।








प्रतिक्रिया