१५ असार २०८३, सोमबार

‘बैंक अफ द इयर २०२४’को अवार्ड सिटिजन्स बैंकलाई

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर । विगत १८ वर्षदेखि सर्वसुलभ र सुरक्षित बैंकिङ सेवा पुर्‍याउँदै आइरहेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड विश्वको प्रतिष्ठित बैंक अफ द इयर २०२४ को अवार्डबाट लण्डनमा सम्मानित भएको छ ।

संयुक्त अधिराज्य (युके) अवस्थित द फाइनान्सियल टाईम्सले बुधबार आयोजना गरेको एक कार्यक्रमका बीच सिटिजन्स बैंकलाई बैंक अफ द इयर २०२४ को अवार्ड प्रदान गरेको हो ।

बैंक सञ्चालक समितिका अध्यक्ष प्रवलजङ्ग पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकको प्रतिनिधित्व गर्दे बैंक अफ द इयर २०२४ को सम्मान ग्रहण गरे । समारोहमा करिब १०० भन्दा बढी देशका बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृतलगायतका अधिकारीहरु गरी करिब ३०० जनाभन्दा बढीको उपस्थिति रहेको थियो ।

बैंक सञ्चालक समितिका अध्यक्ष पाण्डेले बैंकिङ क्षेत्रको ओस्कार पुरस्कार मानिने विश्वको प्रतिष्ठित बैंक अफ द इयर २०२४ को अवाड बैंकले प्राप्त गर्न सफल भएकोमा अत्यन्त गौरवान्वित महसुश गरेको र यसबाट आगामी दिनमा अझ उत्कृष्ट प्रविधिमैत्री आधुनिक बैंकिङ सेवा सुविधा ग्राहकहरुमाझ ल्याउनको लागि हौसला मिलेको बताए ।

त्यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले यस अवार्डको प्राप्ती सम्पूर्ण सरोकारवाला निकायहरुको सहयोग एवं कर्मचारीहरुको अहोरात्र मेहनतबाट सम्भव भएको बताउँदै आगामी दिनमा अझ उत्कृष्ट कार्यसहित सुशासन र प्रुडेन्ट बैंकिङ र हरित बैंकिङका सेवा सुविधाहरुमा थप बल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

द फाइनान्सियल टाईम्सले वार्षिक रुपमा विभिन्न देशका बैंकहरुले गर्ने कार्यसम्पादन एवं गतिविधिहरुलाई मध्यनजर गर्दै बैंक अफ द इयरबाट सम्मानित गर्ने गरेको छ र यसै अनुरुप वर्ष २०२४ को अवार्ड सिटिजन्स बैंकले प्राप्त गर्न सफल भएको हो । यस अवार्डबाट सम्मानित हुने बैंकहरुको वार्षिक सूची द फाइनान्सियल टाईम्सको म्यागजिन द बैंकरमार्फत प्रकाशित हुने गरेको छ ।

सिटिजन्स बैंकले हालैमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स भच्र्युअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । भौतिक कार्ड विना नै मोबाइलको माध्यमबाट स्क्यान गरी क्रेडिट कार्डको सुविधा उपभोग गर्न सकिने विशेषता भच्र्युअल क्रेडिट कार्डमा रहेको छ । बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइहरुबाट करिब १८ लाखभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।