
– शंकर पोखरेल
काठमाडौं । उपचुनावको परिणाममा नेकपा (एमाले) तेश्रो भनेर प्रचार भइरहेको छ । अहिलेको निर्वाचनको परिणामको सामान्य विश्लेषण गर्दा त्यस्तै देखिन्छ । तर चुनाव भएको निर्वाचन क्षेत्रको विगतको परिणाम र त्यस क्षेत्रको राजनीतिक प्रभावका हिसाबले विश्लेषण गर्ने हो भने निष्कर्ष त्यो भन्दा भिन्न देखिन्छ ।
उपचुनाव भएका ४४ सीटमा नेपाली कांग्रेसले विगतमा जितेका २७ सिट रिक्त भएका थिए । त्यसमा २ जिल्ला समन्वय प्रमुख, ३ पालिका प्रमुखरअध्यक्ष र ३ पालिका उपप्रमुखरउपाध्यक्षका साथै बाँकी वडाध्यक्ष रहेका थिए । त्यसपछि दोश्रोमा नेकपा (माओवादी केन्द्र) ले जितेका ८ सिट थिए । जसमा २ उपाध्यक्ष र ६ वडाध्यक्ष रहेका थिए । एमालेले चुनाव जितेका ७ वडाध्यक्षको सिटमा मात्र उपचुनाव भएको थियो । चुनावको परिणामलाई त्यसकै सेरोफेरोमा विश्लेषण गर्नु पर्दछ ।
चुनावी परिणामका हिसावले समग्रतामा नेपाली कांग्रेसले कीर्तिपुरको मेयर सहित १६ वडाध्यक्ष जितेको छ । जिल्ला समन्वय प्रमुख दुबै सुरक्षित गरेको छ । यस हिसावले उसले २ अध्यक्ष र ३ उपप्रमुखरउपाध्यक्ष गरी ५ पदाधिकारी र ३ वडाध्यक्ष गुमाएको छ । नेकपा (माओवादी केन्द्र) ले १ अध्यक्ष र १ उपाध्यक्ष र १ वडाध्यक्ष थप्न सफल भएको छ । यद्यपी माओवादीको जितमा विगतको चुनावमा नेकां संगको तालमेलमा उसले आफ्नो प्रभाव क्षेत्रमा छोडेका सिट पनि सामेल छन् । यद्यपी कोशी प्रदेशको तराई क्षेत्रमा भने उसले आफ्नो जनमतमा केही सुधार गरेको देखिन्छ ।
जहाँसम्म एमालेको परिणामको विषय छ, विगतमा जितेका ७ वडाध्यक्षका ठाउँमा उसले एक अध्यक्ष, दुई उपाध्यक्ष सहित ५ वडाध्यक्ष जितेको छ । गुमेको २ वडाध्यक्षका ठाउमा १ अध्यक्ष र २ उपाध्यक्ष सहित ३ पदाधिकारी जित्न सफल भएको छ । यस हिसाबले नेकपा (एमाले) का लागि पनि निर्वाचनको परिणाम सुधार उन्मुख नै देखिन्छ ।
तर नेकपा ९एमाले०का स्थानीय कमिटीको योजना र अपेक्षा अनुरुप भने चुनावी परिणाम आउन सकेन । विशेषगरी राजधानी काठमाडांमा हुने निर्वाचनको परिणाममा उल्लेख्य सुधारको अपेक्षा गरिएको थियो, त्यो पुरा हुन सकेन । अझै पनि शहरी क्षेत्रका मतदाताको झुकाव मुलधारका राजनीतिक दलका पक्षमा आउन सकेको देखिदैन । त्यसमाथि पछिल्लो समयमा सामाजिक संजालमा भएको नेकपा९एमाले० र त्यसको नेतृत्वका विरुद्धको कुप्रचारले पनि एक हदसम्म चुनावी परिणामलाई प्रभावित गरेको देखिन्छ ।
यस पटकको निर्वाचनमा आम रुपमा पहिले जितेका सिटमा देखिएको परिवर्तन भने आश्चर्य जनक छ । नेकपा९एमाले० विगतमा जितेका ७ वडाध्यक्ष मध्ये १ सिट मात्र कायम राख्न सक्यो । नेकपा (माओवादी केन्द्र) ले विगतमा जितेका ६ वडाध्यक्ष मध्ये पूर्वी रुकुमलाई छोडेर सबै गुमाउन पुग्यो । नेपाली कांग्रेसले १९ वडाध्यक्षमा १० र ६ पदाधिकारी मध्ये कीर्तिपुरलाई छोडेर सबै गुमाउन पुग्यो । यसवाट जनप्रतिनिधिको भूमिका प्रति स्थानिय जनता सन्तुष्ट नभएको देखिन्छ । यसबाट जनप्रतिनिधिहरुले आफ्नो कार्यशैलीमा व्यापक सुधार गर्नुपर्ने सन्देश उपनिर्वाचनले दिएको छ ।









प्रतिक्रिया