
काठमाडौं, १८ मंसिर । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा मंगलबार संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ ।
३३औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा बैंकले अपाङ्गता भएका व्यक्तिहरुको बैंकिङ कारोबारलाई थप सहजीकरण गर्नको निमित्त उपलब्ध स्रोत साधनहरुको अधिकत्तम प्रयोग गरी बैंकको दरबारमार्ग शाखालाई अपाङ्गतामैत्री शाखाको रुपमा विकास प्रयास गर्ने बैंकले जनाएको छ । साथै, अपाङ्गता भएका व्यक्तिहरुलाई सहज सेवा प्रदान गर्नको लागि दरबारमार्ग शाखामा एक जना कर्मचारीलाई सम्पर्क व्यक्ति तथा फोकल पर्सनको रुपमा खटाइएको छ ।
संयुक्त राष्ट्र संघ तथा नेपाल सरकारले तय गरेको नारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रबल नेतृत्व यसको आधार’लाई आत्मसात गर्दै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अपाङ्गता संरक्षण नेपालसँगको सहकार्यमा शारीरिक अपाङ्गता भएका तथा दृष्टिविहिनहरुलाई सहयोग गर्ने उद्धेश्य अनुरुप बैंकको केन्द्रिय कार्यालय दरबारमार्गमा आयोजित एक कार्यक्रमका बीच सेतो छडीलगायतका सामग्रीहरुसमेत वितरण गरिएको छ । यस किसिमका कार्यहरुबाट अपाङ्गता भएका व्यक्तिहरुको सहज जीवनयापन गर्न तथा समावेशी तथा दिगो भविष्यको आधार निर्माण गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।








प्रतिक्रिया