
काठमाडौं, १८ मंसिर । माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जसअनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब २६ करोड ३२ लाख ३१ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लाभांश लगानीकर्तामा वितरण हुनेछ । कम्पनीले पुस २८ गते साधारणसभा गर्ने भएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै पुस १० गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
कम्पनीले लगातार दोस्रो वर्ष १५.७८९५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट पनि १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.७८९५ प्रतिशत नगद गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
माउन्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजना हाल सञ्चालन भइरहेका छन् । कम्पनीले ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो परियोजना प्रतिमेगावाट साढे १३ करोड हाराहारीको लागतमा निर्माण सम्पन्न गरेको थियो ।
माउन्टेन इनर्जीले १२ मेगावाट क्षमताको मिस्ट्रीखोला–२ जलविद्युत आयोजनाको पनि विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको छ ।
कम्पनीले हालै मात्र दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता पनि गरेको छ । कम्पनीले मनाङको दूधखोलामा सीता हाइड्रोले प्रवर्दन गरेको ६५ मेगावाट क्षमताको आयोजनामा लगानी गर्ने भएको हो ।








प्रतिक्रिया