
भैरहवा, १७ मंसिर । रुपन्देही क्रिकेट संघले चालु आर्थिक वर्षमा ७ जना खेलाडीलाई मासिक सुविधा दिने भएको छ । खेलाडी कल्याणकारी कोषअन्तर्गत आर्थिक वर्ष २०८१-२०८२ का लागि मासिक ५ हजार रुपैयाँ दिनेगरी ७ जना खेलाडी छनोट गरिएको संघका अध्यक्ष हरिबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार क्रिकेट खेलमा निरन्तर लागेका खेलाडीलाई पलायन हुनबाट रोक्नु कल्याणकारी कोषको मुख्य उद्देश्य हो । मासिक सुविधा पाउने खेलाडीहरुमा सिनियरतर्फ २, यू-१९ तर्फ २ र महिला क्रिकेट खेलाडीतर्फ ३ जना छन् ।
‘खेलाडीको संरक्षण गर्ने भनेर कल्याणकारी कोष खडा गरेका थियौँ’, अध्यक्ष थापाले भने, ‘कोषमा उपलब्ध रकमबाट खेलाडी संरक्षण रकम प्रदान गर्दै आइरहेका छौँ ।’ संघका अनुसार चालु आर्थिक वर्षमा सिनियरतर्फ कृष्ण कार्की र अजय चौहानले मासिक ५ हजार रुपैयाँ सुविधा पाएका हुन् ।
यस्तै, यू-१९ तर्फ सन्तोष यादव र रमेश कुर्मीले यो सुविधा प्राप्त गर्दा महिलातर्फ कृति अधिकारी, सन्ध्या चापागाईं र एन्जिला पाठकले मासिक सुविधा पाएका छन् ।
क्रिकेट संघका सदस्य प्रथम पराजुलीका अनुसार खेलाडी कल्याणकारी कोषका लागि रुपन्देहीको सियारी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष अरुण शाही र २ का वडाध्यक्ष जनार्दन यादवले आफूले पाउने पारिश्रमिक बापत कल्याणकारी कोषमा रकम उपलब्ध गराउँदै आएका छन् ।
‘हामीले दुईजना वडाध्यक्षले उपलब्ध गराएको रकम र रुपन्देही क्रिकेट एकेडेमीबाट हुने आम्दानीबाट खेलाडीहरुलाई मासिक सुविधा दिइरहेका छौँ’, उनले भने, ‘सहयोगी दाताहरु थपिँदै जानुभएको छ । यसमा थप रकम जुटाउन पनि हामी लागिपरेका छौँ ।’
अध्यक्ष थापाका अनुसार कल्याणकारी कोषको रकम वृद्धि गर्न सकिएमा कम्तिमा सिनियर, यू-१९ र महिला टिमका सबै सदस्यलाई मासिक सुविधा दिइनेछ ।








प्रतिक्रिया