
काठमाडौं, १६ मंसिर । नेपाल डिपि लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली लुम्बिनी लायन्ससँग साझेदारी गरेको छ ।
योसँगै नेपाल डिपि लुम्बिनी लायन्सको आधिकारिक क्यापिटल मार्केट पार्टनर हुनेछ । सम्झौतापत्रमा नेपाल डिपि लिमिटेडका प्रमख कार्यकारी अधिकृत अञ्जनराज पौड्याल र लुम्बिनी लायन्सका क्रिकेट म्यानेजर राजजंग थापाले हस्ताक्षर गरेका थिए ।
प्रायोजनको उद्देश्य नेपाली क्रिकेटलाई प्रवर्द्धन गर्नुका साथै विशेष गरी युवा पुस्ता एवं नेपाली जनमानसमा क्यापिटल मार्केटको बारेमा जनचेतना सिर्जना गर्नु हो ।
नेपाल डिपि लिमिटेडले यसको प्रवर्द्धन स्टक ब्रोकिङ्ग कम्पनीहरूको सहयोगमा एक वित्तीय साक्षरता छलफल कार्यक्रम आयोजना गर्नेछ । कम्पनीले एनपीएलको अवधिमा आफ्ना सेवाहरुमा विशेष योजनाहरु पनि घोषणा गर्नेछ ।
लुम्बिनी लायन्सको नेतृत्व नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले गर्दैछन् ।
शनिबारबाट सुरु भएको एनपीएलमा लुम्बिनी लायन्सले मंसिर १९ गते विराटनगर किङ्ससँग पहिलो खेल खेल्नेछ ।








प्रतिक्रिया