
काठमाडौं, १३ मंसिर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन बलिया राजनीतिक दल आवश्यक पर्ने बताएका छन् ।
बिहीबार कीर्तिपुरमा आयोजित स्थानीय तह उपनिर्वाचनको चुनावी सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले मुलुकलाई विकास समृद्धिको बाटोमा लैजान धेरै राजनीतिक दल भएर सम्भव नहुने बताएका हुन् ।
हिजो अधिकारको लडाइँ लड्दा जति धेरै राजनीतिक दल भए पनि फरक नपर्ने भए पनि अब विकासको काम गर्न बलिया र स्पष्ट दृष्टिकोण भएका राजनीतिक दल आवश्यक पर्ने पोखरेलका भनाइ छ । ‘विकास र समृद्धिको बाटोमा अघि बढ्न धेरै राजनीतिक दल होइन, बलिया राजनीतिक दल आवश्यक पर्दछ’, उनले भने ।
राजनीतिक अस्थिरताको कारण नेपाल बन्न नसकेको बताउँदै पोखरेलले अब नेपालमा धेरै राजनीति दल होइन बलिया राजनीतिक दल बनाउने सङ्कल्प गर्नुपर्ने बताए । ‘३२ सिटले म्याजिक नं भन्दै जनताले अस्वीकार गरेकाहरूले शासन गर्ने युगको अन्त्य गर्नुपर्दछ’, पोखरेलले भने ।
पोखरेलले बलियाले नीतिको आधारमा मुलुकको नेतृत्व गर्नुपर्ने बताए । सो दिशा तर्फ मुलुकलाई डोर्याउन अग्रसर हुनुपर्नेमा उनले जोड दिए । पोखरेलले देश बनाउने हो भने अब युवा राजनीतिमा आउनु पर्ने धारणा राखे । नेपालमा केही हुँदैन भन्दै युवा विदेश गएर देश नबन्ने उनले स्पष्ट पारे । देश बनाउनको लागि देशमा नै बसेर काम गर्नुपर्ने पोखरेलको धारणा छ ।
जति बेला एमाले सरकारमा हुन्छ त्यति बेला युवाको विदेश पलायन घटेको उनले दाबी गरे । ‘त्यसैले नेकपा एमाले युवालाई देशमा टिकाउने पार्टी भएको उनले बताए । देशको स्वाभिमानको झण्डा उठाउन सक्ने एमाले, देशमा विकास र समृद्धिको काम गर्न सक्ने नेकपा एमाले’, पोखरेलले भने ।
मुलुकको विकास र समृद्धिको यात्रा अघि बढाएर देशमा निराशा चिर्ने पार्टी एमाले भएको उनले बताए । निराशालाई चिर्नको लागि नेकपा एमालेले कीर्तिपुरमा सुरेन्द्र मानन्धर जस्ता युवालाई चुनावी मैदानमा उतारेको उनले बताए । ‘अब निराशाको समय सकियो, आशाको समय सुरु भएको छ’, उनले भने ।








प्रतिक्रिया