३० जेष्ठ २०८३, शनिबार

भियतनाम कम्युनिष्ट पार्टीको टोली र एमाले महासचिव पोखरेलबीच भेटवार्ता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । नेपाल भ्रमणमा रहेको भियतनाम कम्युनिष्ट पार्टीको टोलीले नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग भेट गरेको छ ।

भियतनाम कम्युनिष्ट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य ले हाई विन्ह नेतृत्वको टोलीले मंगलबार महासचिव पोखरेलसँग भेट गरेको हो । ६ सदस्यीय प्रतिनिधिमण्डलले एमाले केन्द्रीय कार्यालयमा पुगेर महासचिव पोखरेलसँग भेटी छलफल गरेको छ । भेटमा दुई देशका सरकार, कम्युनिष्ट पार्टी र जनताका बिचको सम्बन्धका बारेमा छलफल भएको छ ।

भेटमा एमाले महासचिव शंकर पोखरेले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा महत्वका साथ भियतनामको भ्रमण गरेबाट दुई देशबिचको गहिरो सम्बन्धलाई उजागर गर्ने बताए पोखरेलले भियतनामसँगको सम्बन्धका विभिन्न पाटाहरूको चर्चा गर्दै बुद्ध धर्मले नेपाल र भियतनामलाई सांस्कृतिक रूपमा जोडेको बताएका हुन् ।

पोखरेलले यो सम्बन्धलाई घनिष्ठ बनाउन दुई देशबिच सिधा हवाई सेवा सञ्चालन गर्न पहल हुनुपर्नेमा जोड दिए । उनले भियतनाममा भएको स्वाधीनता र स्वाभिमानको आन्दोलनबाट नेपालले ठुलो शिक्षा र प्रेरणा लिएको स्मरण गरेका थिए । भियतनामको आर्थिक विकासबाट नेपालको विकास र समृद्धि यात्रा अगाडि बढाउन सकारात्मक प्रभाव पर्ने पोखरेलले विश्वास व्यक्त गरे ।

भेटमा भियतनाम कम्युनिष्ट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य लिले नेपालमा कम्युनिष्ट पार्टीले हासिल गरेको सफलताप्रति खुसी प्रकट गरे। उनले आगामी दिनमा अझ बढी सफलताको शुभकामना व्यक्त गरेका थिए । उनले दुई कम्युनिष्ट पार्टीबिचको सम्बन्धलाई सुदृढ बनाउँदै दुवै देश र जनताको आर्थिक समृद्धिका लागि आपसी सहयोग अभिवृद्धि गर्न भियतनाम तयार रहेको बताए ।