१८ असार २०८३, बिहिबार

भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी तीव्र

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, ११ मंसिर । यही मंसिर २० देखि भैरहवामा सुरु हुने लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी तीव्र पारिएको छ । आर्थिक मन्दीले शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउने र भैरहवासहित सिंगो लुम्बिनी प्रदेशको आर्थिक गतिविधिलाई बढवा दिने उद्देश्यले सिद्धार्थ उद्योग वाणिज्य संघले महोत्सव आयोजना गरेको हो ।

‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको महोत्सवलाई सफल बनाउन संघले अहिले तयारीको कामलाई तीव्रता दिएको छ । संघका महासचिव कृष्णप्रसाद घिमिरेले महोत्सव नयाँ उद्यम गर्न चाहनेका लागि कलेज भएको बताए ।

‘यहाँ आएर नयाँ उद्यम गर्न चाहनेले उद्यमशीलता बन्ने उपाय र योजना सिक्न सक्छन्’, महासचिव घिमिरेले भने, ‘व्यापार गरिरहेकाहरुका लागि यो मेला शिक्षा हो । जो व्यापार गरेर स्थापित हुनुभएको छ, उहाँहरुका लागि यो अध्ययन हो ।’ उनले मेला भर्न आउने सबैले कुनै न कुनै किसिमले व्यापारसम्बन्धी ज्ञान पाउने जनाए ।

अहिले मुलुकको आर्थिक अवस्था दयनीय हुँदा समेत चुनौतीलाई अवसरमा बदल्नका लागि आफूहरुले व्यापार मेलामार्फत् केही अवसरहरु सिर्जना गर्न खोजेको संघले जनाएको छ ।

‘उद्योगी–व्यवसायीको आर्थिक अवस्था दयनीय भएकाले मेला–महोत्सव आयोजना गर्नका लागि अहिलेको परिस्थिति अनुकुल थिएन । तर, स्थानीय व्यवसाय प्रवर्द्धनका लागि महोत्सव एक विकल्प हुनसक्छ भनेर हामीले महोत्सव आयोजना गरेका हौँ’, संघका कोषाध्यक्ष कमलप्रसाद मरासिनीले भने, ‘महोत्सव सकिँदा बजारमा केही मात्रामा साकारात्मक सञ्चार पैदा गर्छ भन्ने विश्वास लिएका छौँ ।’

उनले मन्दीका कारण हत्तोसाहित भएर बसेका व्यासायीलाई महोत्सवले थोरै भए पनि राहत दिने बताए । ‘धेरै व्यापारीमा अहिले निराशामात्रै देखिन्छ । तर, महोत्सवमा क्रेता र विक्रेताबीच प्रत्यक्ष भेटघाट हुने भएकाले केही आशा सिर्जना गर्छ । व्यापार हुँदा र उपभोक्तासँग प्रत्येक्ष कुराकानी गर्दा व्यवसायीमा पनि उत्साह हुन्छ भन्ने हाम्रो विश्वास हो’, कोषाध्यक्ष मरासिनीले भने । उनले महोत्सव व्यापार वृद्धिसँगै एकअर्काबीच समस्याहरु आदानप्रदान गर्ने थलोसमेत भएको बताए ।

‘यो महोत्सव हामीले नाफा कमाउने उद्देश्यले आयोजना गरेका होइनौँ’, उनले भने, ‘स्थानीय व्यवसायको प्रवर्द्धन गर्नका लागि निरन्तरता दिएका हौँ । महोत्सव अवधिमा स्थानीय उत्पादन तथा व्यवसाय प्रवर्द्धन गर्नका लागि विभिन्न विषयगत बिज्ञसहितको अन्तरक्रिया तथा छलफल कार्यक्रम गरेर महोत्सवलाई सार्थक बनाइने छ ।’

महोत्सवले स्वदेशी तथा गुणस्तरीय वस्तु तथा सेवाहरुको उपभोगप्रति उपभोक्ताहरुलाई जागरुक बनाइ सीमावर्ती बजारहरुमा पाइने सामानहरुबीचको तुलनात्मक मूल्यका वारेमा जानकारी दिने र स्थानीय स्तरमा उत्पादित घरेलु तथा हस्तकलाका सामाग्रीको बजार प्रवर्द्धन गर्ने विश्वास लिइएको उनले जनाए ।

रुपन्देहीलाई पर्यटकीय, औद्योगिक तथा व्यापारिक केन्द्रको रुपमा विस्तार गर्न, यस क्षेत्रको विभिन्न जाती तथा समुदायको कला संस्कृतिको संरक्षण गर्दै विशेष गरी सिद्धार्थनगर र लुम्बिनीमा देशको आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्ने, विभिन्न जिल्लाका मौलिक तथा विशिष्टता पहिचान भएको वस्तु तथा उत्पादनको प्रदर्शनी तथा प्रवर्द्धन गर्ने मुख्य उद्देश्य यस महोत्सवको रहेको संघका सचिवसमेत रहेका प्रचारप्रसार संयोजक मंगल भण्डारीले बताए । उनले अहिले महोत्सवको प्रचारप्रसारलाई तीव्रता दिइएको जनाए । जिल्ला सहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न माध्यमबाट प्रचारप्रसार गरी अधिकतम दर्शक भित्र्याउने प्रयास भइरहेको उनले जनाए ।

उनले महोत्सव सफल पार्न आयोजक सिद्धार्थ उद्योग बाणिज्य संघको मात्र नभएर यस क्षेत्रका पूरै स्थानीयबासीको महत्वपूर्ण भूमिका रहने बताए । महोत्सवको अवलोकन गर्नका लागि उत्साहित बनाउने वातावरण तयार गर्न भैरहवाबासीलाई उनले आग्रह गरे । ‘महोत्सवमा उपभोक्ता र उत्पादक एवं किसानहरुको प्रत्यक्ष भेटघाट हुने भएकाले यस भेगमा उत्पादित कृषिजन्य वस्तुहरु माछा, कुटिर तथा घरेलु र राष्ट्रिय स्तरका उद्योगहरुबाट उत्पादित उत्पादनहरुको विशेष प्रस्तुतीकरण गरिनेछ’, भण्डारीले भने, ‘यसबाट नयाँ उद्यमीहरुको विकास र कृषिको व्यवसायिककरण पनि हुनेछ । यसैले सबैजना मेला भर्न आउनुहुनेछ भन्ने विश्वास लिएको छु ।’

महोत्सवमा करिब १० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा संघको छ । संघले २०६१ सालदेखि भैरहवामा मेला महोत्सव आयोजना गर्न सुरु गरेको हो । यसअघि आठौ पटक सफलतापूर्वक महोत्सव आयोजना गरेको संघले नवौं महोत्सव पनि सफल र भव्य बनाउने जनाएको छ । मर्चवारदेखि मुस्ताङसम्मका उत्पादन महोत्सवमा राखिने संघले जनाएको छ । महोत्सवमा कृषि, पर्यटन, अटो मोबाइल्स, आईटी, घरेलु उत्पादनको विशेष प्रवर्द्धन गरिनेछ ।

यस्तै, राष्ट्रिय तथा स्थानीय कलाकारको दैनिक प्रस्तुती रहनेछ । पुस १ गतेसम्म चल्ने महोत्सवमा सिमावर्ती भारतीय सहरबाट पनि सहभागिता रहने भएकाले पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिविधि चलायमान हुने विश्वास लिइएको छ । महोत्सव अवधिमा बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धसँग सम्बन्धित रहेका तिलौराकोट, देवदह, रामग्राम जस्ता पुरातात्विक तथा पर्यटकीय स्थलहरुमा विशेष प्याकेज बनाइ भ्रमणको व्यवस्था मिलाइएको छ ।