५ श्रावण २०८३, मंगलबार

गरिमा विकास बैंकको ‘गरिमा रोड रेस कम्पिटिसन २०८१’ सम्पन्न

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ मंसिर । ‘स्वस्थ जीवनशैली’का लागि खेलकुद भन्ने नाराका साथ गरिमा विकास बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा आज शनिबार ‘गरिमा रोड रेस कम्पिटिसन २०८१’ सफलतापूर्वक सम्पन्न गरेको छ ।

किर्तिमानी धावक तथा ओलम्पियन बैकुण्ठ मानन्धरद्वारा उद्घाटन गरिएको प्रतियोगितामा खुल्लातर्फ महिला र पुरुष तथा कर्पोरेटतर्फ महिला र पुरुष गरी कुल चार विधामा प्रतिस्पर्धा गराइएको थियो । खुल्ला तर्फको १० किलोमिटर दौड विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटबाट सुरु भई नारायणगोपाल चोक, हात्तीगौडा हुँदै बुढानिलकण्ठ नगरपालिकाको गणेशचोक पुगेर पुनः लाजिम्पाट फर्किने मार्गमा सञ्चालन गरिएको थियो ।

त्यसैगरी, कर्पोरेट तर्फको ५ किलोमिटर दौड बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटबाट नारायणगोपाल चोक पुगेर पुनः लाजिम्पाट फर्किने मार्गमा सम्पन्न भएको थियो ।

६५० भन्दा बढी धावकहरुको सहभागिता रहेको यस प्रतियोगितामा हरेक विधाका प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने प्रतिस्पर्धीहरुलाई क्रमशः ७५ हजार, ६० हजार, ४५ हजार, ३० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कारका साथै, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडका सञ्चालक तथा ओम हस्पिटल एवं रिसर्च सेन्टरका अध्यक्ष डा. आनन्दप्रसाद श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

विकास बैंकका अध्यक्ष श्यामप्रसाद बस्यालले स्वस्थ जीवनशैली निर्माणमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने भएकाले प्रत्येक वार्षिकोत्सवमा यस्तो प्रतियोगिता सञ्चालन गरिने जानकारी दिए ।

एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले गरिमा विकास बैंक लिमिटेडले आयोजना गरेको यो प्रतियोगिता नेपालमा आयोजना भएका प्रतियोगिताहरुमध्ये हालसम्मकै सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिता भएको बताए ।

यसैबीच, विकास बैंकले २०८१ कात्तिक १४ गते नेपाल र बंगलादेशबीच सम्पन्न साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटबलको फाइनलमा नेपाली महिला टिमले गरेको एक गोल बापत घोषणा गरिएको एक लाख रुपैयाँ नगद पुरस्कार पनि अखिल नेपाल फुटबल संघ र राष्ट्रिय महिला फुटबल टिमको प्रतिनिधिलाई हस्तान्तरण गरिएको छ ।

विकास बैंकले १८औं वार्षिकोत्सवको अवसरमा यस कार्यक्रमसहित देशभर १८ वटा सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकले यस किसिमको रोड रेस प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य राखेको छ ।

गरिमा विकास बैंकले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा उपस्थित सबै तथा स्थापनादेखि हालसम्मको गरिमामय यात्रामा निरन्तर साथ दिने सेवाग्राही, शेयरधनी, नियमनकारी निकाय, सञ्चारकर्मी, कर्मचारी एवं शुभेच्छुकहरुप्रति हार्दिक कृतज्ञता प्रकट गरेको छ ।