
काठमाडौं, ६ मंसिर । सांस्कृतिक आदानप्रदानको माध्यमबाट नेपाल र अस्ट्रियाबीचको आपसी समझदारीलाई अझ बलियो बनाउने उद्देश्यलले प्यान्टोमाइम कार्यक्रम सम्पन्न भएको छ ।
नयाँ दिल्लीस्थित अस्ट्रियन राजदूतावासले पाटन दरबार स्क्वायरको पाटन म्युजियममा आयोजना गरेको कार्यक्रममा अस्ट्रियन कलाकारद्वय मारिआना डे मेओ र रोमन मारिया मुल्लरले प्यान्टोमाइम प्रस्तुतिमार्फत दर्शकलाई मन्त्रमुग्ध पारेका थिए ।
नेपालका लागि अस्ट्रियाका अवैतनिक वाणिज्यदूत राजेशबाबु श्रेष्ठले कूटनीतिमा सांस्कृतिक आदानप्रदानको महत्त्वलाई जोड दिँदै भने, ‘कूटनीति राजनीतिक र आर्थिक सम्बन्ध मात्र होइन, सांस्कृतिक आदानप्रदान, समझदारी निर्माण र मुलुकहरुबीचको मित्रताको सबलीकरणबाट पनि यो फस्टाउँछ ।’
मनकामना केबलकारको प्रायोजन र नेपालका लागि अस्ट्रियाको अवैतनिक वाणिज्यदूत राजेशबाबु श्रेष्ठको सहयोगमा सम्पन्न कार्यक्रममा अस्ट्रियन कल्चरल फोरमका डाइरेक्टर माइकल पल र उनकी श्रीमती इरेना पल पनि सहभागी थिइन् ।
प्यान्टोमाइम एक रंगमञ्चीय प्रस्तुति हो जसमा कलाकारले अनुहारको भाव र शारीरिक हाउभाउमार्फत कथा प्रस्तुत गर्छन् ।
अस्ट्रियन दूतावासले यसअघि पनि सफलतापूर्वक धेरै सांस्कृतिक आदानप्रदान कार्यक्रमहरू सम्पन्न गरेको छ र भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।









प्रतिक्रिया