२९ असार २०८३, सोमबार

हवाइ इन्धन डिपोको ‘मिसन ०८४’ : गुहेश्वरीमा अत्याधुनिक डिपो बनाउने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । गुहेश्वरीतर्फको नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराउने सहमति भएको ५० रोपनी क्षेत्रफलको जग्गामा निगमको डीपो स्थानान्तरण हुनेछ ।

आयल निगमले २०८४ मंसिरभित्र डीपो स्थानान्तरण गरिसक्ने गरेर नयाँ अत्याधुनिक डिपो बनाउने भएको हो । त्यसका लागि बुधबार विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) निर्माण सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा नेपाल आयल निगम सिनामंगल डिपोका प्रमुख प्रदीपकुमार यादव र पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका सहप्राध्यापक नारायण प्रसाद गौतमले हस्ताक्षर गरे ।दुई पक्षीय सम्झौतापत्रमा ६ महिना भित्रमा डीपीआर तयार गरिने उल्लेख छ ।

सिनामंगल डिपोका प्रमुख यादवले २०८४ मंसिरभित्र अन्तर्रास्ट्रिय मापदण्ड अनुसार डिपो निर्माण भइसक्ने बताए । ‘२०८४ भित्र निर्माण सम्पन्न गर्ने गरि काम अघि बढाउँछौं, डीपीआर तयार भएपछि टेण्डरको प्रक्रिया अघि बढ्छ, अन्तर्राष्ट्रिय स्तरको मापदण्डअनुसार नयाँ डिपो बन्नेछ,’ सिनामंगलस्थित डिपोका प्रमुख यादवले सम्झौतामा हस्ताक्षरपछि भने ।

यादवका अनुसार डीपीआर तयार गर्नका लागि १ करोड ९८ लाख ८४ हजार १८३ रुपैयाँ रकम लागत लाग्ने छ । डीपीआर निर्माणमा कन्सल्टेन्ट पक्षबाट प्राविधिक काम हुनेछ । कन्सल्टेन्ट सेवाका तर्फबाट सम्झौता पत्रमा हस्ताक्षर गरेका पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका सहप्राध्यापक गौतमले संस्थानले पछिल्ला दिनमा कन्सल्टेन्ट सेवामा उत्कृष्ट काम गर्दै आएको र निगमसँगको सम्झौताले अर्को एक कदम परिस्कृत बन्ने अवसर पाएको बताए ।

अध्ययन संस्थानका सहप्राध्यापक डा. सुरज लामिछानेले भण्डारण गृहको स्तरोन्नति ऐतिहासिक कदम हुने धारण राखे । उनले निगमसँगको सम्झौता अनुसार नै संस्थानले काम गर्ने स्पष्ट पारे । त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलसँगै जोडिएका कारण आयल निगमको डीपोले विमानस्थललाई जोखिम बढाएको छ । हालको स्थानमा रहेको डिपोेका कारण स्थानीय वासिन्दासमेत जोखिममा छन। विमानस्थलको ट्याक्सी वे समेत डीपो भएको स्थानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार छैन ।

डीपो प्रमुख यादवले डीपोका कारण विमानस्थल र स्थानीय असुरक्षित रहेको आवाज पटकपटक उठेपछि डिपोे स्थानान्तरणका लागि पहल भएको जानकारी दिए । उनका अनुसार विमानस्थलको ट्याक्सी वे अन्तर्रास्ट्रिय मापदण्डअनुसार ५०० मिटर हुनुपर्नेमा ९० मिटर मात्रै रहेको छ ।

विमानस्थलको ट्याक्सी वे अन्तर्रास्ट्रिय मापदण्ड अनुसार ५०० मिटर हुनुपर्नेमा ९० मिटर मात्रै छ, अन्तर्राष्ट्रिय विमान आउँदा झण्डै झण्डै ठोक्केला जस्तो हुने अवस्थाका कारण पनि स्थानान्तरण गर्नु पर्ने बाध्यता थियो,’डिपो प्रमुख यादवले भने ।