
काठमाडौंं, ५ मंसिर । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तराष्ट्र्रिय उडान भर्ने हवाइ कम्पनीहरुलाई २४ घण्टाभित्र हवाइ भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन् । हवाई भाडा वृद्धि नियन्त्रणबारे मन्त्रालयमा बोलाएको सरोकारवाला वायु सेवा कम्पनीहरुलाई उच्च मूल्यको भाडा लिएको भन्दै त्यसबारे पूर्नविचार गर्न निर्देशन दिएका हुन् ।
उनले भने, ‘हामीले नागरिकहरुकै सेवा भनेर हवाइ कम्पनीहरुलाई सहुलियत दिएका थियौं । तर त्यसको उपहास भएको छ, राज्य र नागरिक प्रतिको दायित्वलाई बेवास्ता गरेर गैरजिम्मेवारीपन देखाइएको छ । नागरिकमाथी प्रतिष्ठित व्यापारी र एयरलाइन्सले द्वन्द्व व्यापार जस्तो गर्नुभएको छ । यस विषयले म निकै दुखी भएको छु ।’
यसअघि हवाई सेवा कम्पनीहरुले नियामक निकायसँगको छलफलमा हाडा नियन्त्रणका लागि पाँचबुँदे सहमति गरिएको भएपनि त्यसको कार्यान्वयन नगरेको भन्दै पर्यटनमन्त्री पाण्डेले आक्रोस व्यक्त गरे ।
हवाई भाडा बृद्धिबारे गुनासो बढेपछि परराष्ट्र, श्रम र पर्यटनमन्त्रीबीचको बैठकले समेत हवाई भाडा नियन्त्रणका लागि छलफल गरिएको स्मरण गराउदै उनले राज्य र नागकिरप्रति जिम्मेवार बन्न एयरलाइन्सलाई आग्रह पनि गरेका छन् । मन्त्री पाण्डेले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले समेत अचाक्ली हवाई भाडा लिएकोप्रति सचेत पनि गराए ।
नागरिकहरुले हवाई भाडा बृद्धिबारे गरेको गुनासोले आफूलाई बढी चिन्तित तुल्याएको बताउँदै २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहिबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए । पर्यटनमन्त्री पाण्डेले एयरलाइन्सले हवाई भाडाबृद्धिबारे पुर्नविचार नगरे सरकारले कडा कदम चाल्ने स्पष्ट पारे ।
मन्त्रालयका सचिव डा. गणेश पाण्डेयले सम्झौता अनुसार एयरलाइन्सले किन अटेर गरेको भन्दै प्रश्नपनि गरेका छन् । उनले भने, ‘आफूले गरेको निर्णय आफै लागू गर्नेकी नियमन गर्न कठोर बन्नुपर्ने हो । सम्झौता किन लागू नगरेको ? तपाँइहरुले यदि निर्णय कार्यान्वयनमा अटेर गर्नुभयो भने सेवा दिन आउने नयाँ हवाई कम्पनीका लागि सूचना आव्हान गर्न सकिन्छ ।’
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले एयरलाइन्सले हवाई भाडा नियन्त्रण सम्बन्धी पाँचबुदे सहमति कार्यान्वयन नगरेको र हवाई टिकटमा कृतिम अभाव देखाउदैँ कालो बजारी गरिरहेकाले त्यसलाई नियन्त्रण गरेरै छोड्ने अठोट व्यक्त गरे ।
छलफलमा सहभागी एयरलाइन्सका प्रतिनिधिले हवाई भाडाबारे सत्यतथ्य जानकारी दिन आनाकानी गरेका थिए । एयरलाइन्सले चार गुणा बढी भाडा लिएको भन्दै आलोचना भएको थियो । छलफलमा नेपालमा सेवा दिदैँ आएका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका प्रतिनिधिहरुको उपस्थिति थियो ।








प्रतिक्रिया