
मुगु, ५ मंसिर । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले गमगढीदेखी रारासम्मको सडकलाई स्तरोन्नतिसहित पक्की गर्न प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताएका छन् ।
आज दिउँसो मुगुको सदरमुकाम मान्मामा आयोजित सर्वदलीय बैठकमा मुख्यमन्त्री कँडेलले पर्यटकीय दृष्टिले कर्णालीकै प्रशस्त संभावना बोकेको रारा जाने पहुँचमार्गलाई सहज बनाउन प्रदेश सरकारले बिशेष प्राथमिकतामा राख्ने बताएका हुन् । मुख्यमन्त्री कँडेलले रारा पुगेपछि पर्यटकले जति आनन्द लिन सक्छन त्यति नै पहुँच मार्गलाई सहज बनाउन प्रदेश सरकारको ध्यान जाने स्पष्ट पारे ।
प्रदेश सरकारले रारामा पर्यटकलाई आर्कषित गर्न ताल वरिपरि ४५ करोडको लागतमा साइकल लेनको निर्माण गरिरहेको बताउँदै मुख्यमन्त्री कँडेलले त्यसलाई समयमै सम्पन्न गर्न स्थानीय राजनीतिक दलहरुले खबरदारी गर्न पनि आग्रह गरे । उनले भने, प्रदेश सरकारले रकम बिनियोजन गरेपनि निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगर्दा त्यसको अपजस सरकारले खेप्नुपरेको छ, तपाईहरुले पनि समयमा सम्पन्न गर्नेतर्फ खवरदारी गर्नुहोला ।
मुगुको छायानाथ मन्दीर, चंखेली हिमाललाई पर्यटकीय दृष्टिले उत्कृष्ट बनाउन तथा जडीबुटीको संभावनालाई सदुपयोग गर्न सरकारलाई सुझाव दिन पनि मुख्यमन्त्री कँडेलले दलहरुलाई आग्रह गरे । मुलुकको आर्थिक अवस्था त्यति सन्तोषजनक नरहेको चर्चा गदै उनले राज्य स्वयंसँग सिमित साधन र रहेको र सिमित साधन श्रोतबाटै जनतालाई निराशा हुन नदिनेगरि उत्कृष्ट काम गर्नु परेको धारणा राखे ।
नीति निर्माण, योजना र बजेट निर्माणमा जनप्रतिनिधिहरुको भूमिका भएपनि जनप्रतिनिधिले पास गरेका बजेट कार्यान्वयन गर्ने कर्मचारी प्रशासनको धेरै महत्व हुने बताउदै मुख्यमन्त्री कँडेलले हिमाली जिल्लाहरुमा कर्मचारी आउन नमान्ने भएकाले पनि निर्णय भएको बजेट कार्यान्वयनमा समस्या देखिएको धारणा राखे ।
उनले कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज बनाउन र अभिप्रेरित गर्न स्थानीय राजनीतिक दलहरुलाई आग्रह गरे । मुख्यमन्त्री कँडेलले जिल्लाको विकासमा सबै राजनीतिक दलहरुबीच जति धेरै एकता हुन्छ त्यतिनै प्राप्ति हुने हुँदा विकास र समृद्धिमा एक भएर अघि बढन दलका नेताहरुलाई सुझाव दिए ।








प्रतिक्रिया