
काठमाडौं, ५ मंसिर । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य एवम् सांसद सूर्य थापाले प्युठान जिल्लाका प्रमुख सडकहरू साथै विकास पूर्वाधारका विषयमा अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरेका छन् ।
प्युठानका प्रमुख सडकहरू भालुबाङ–प्युठान सडक, बाग्दुला–भिमगिठे सडक र मदन भण्डारी राजमार्ग (सौतामारे–मच्छी तथा गोखुङ्गा– खरिबोट–बाग्दुला दुबै खण्ड) तथा अन्य विकास पूर्वाधारको सम्बन्धमा उपप्रधान एमव् अर्थमन्त्री पौडेलसँग छलफल भएको सांसद थापाले जानकारी दिएका हुन् ।
छलफलमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवप्रसाद शर्मा, अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाल, मदन भण्डारी राजमार्ग आयोजना प्रमुख दीप बाराही, बाग्दुला–भिमगिठे सडक आयोजना प्रमुख थानेश्वर खत्री लगायतसमेतको उपस्थिति रहेको थियो।
यस्तै आजै जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्कासँग प्युठान नगरपालिका ९ र १० मा विपद्ले गरेको क्षतिको पुनर्निर्माण एवं वायो इन्जिनियरिङ टीम पठाउने र नौमुरे जलविद्युत आयोजनाको आयोजना कार्यालय सरूमारानी गाउँपालिका वडा नम्बर-१ बाङ्गेसालमा स्थापना गर्न विशेष ध्यानाकर्षण गराइएको पनि थापाले जानकारी दिए ।
आजै थापा नेतृत्वको टोलीले नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा प्रमुख मनोज सिलवाललाई भेटी दम्ती सव स्टेसन संचालनमा ल्याउन गरेको योगदानका लागि धन्यवाद ज्ञापन गर्दै स्याउलीबाङ र रजबारामा बाँकी विद्युतीकरण आउँदो मंसिर १५ भित्र सम्पन्न गरिसक्ने गरी अघि बढाउन र स्वर्गद्वारी आश्रम एवं धरमपानी प्रवेशद्वारसहित आसपासका क्षेत्रसम्म ‘विशेष उज्यालो’ कार्यक्रम सम्पन्न गर्न पनि जोड दिइएको छ ।








प्रतिक्रिया