७ श्रावण २०८३, बिहिबार

आईटी क्षेत्रमा ३ लाख रोजगारी सिर्जना गर्छौँ : सञ्चारमन्त्री गुरूङ

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ कात्तिक । टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट २०२४ सुरू भएको छ । काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा फेस्ट सुरू भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले मोबाइलबाट पानसमा दियो बालेर फेस्टको उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरूङले सूचना प्रविधिको क्षेत्रमा ३ लाख रोजगारी सिर्जना गर्न काम गर्ने बताए ।

‘सूचना प्रविधि क्षेत्रमा ३ वर्षमा ३ लाख रोजगारी सिर्जना गर्ने काममा म लाग्छु । त्यसमा निजी क्षेत्र, शैक्षिक संस्थालगायत सबैको सहयोग चाहिन्छ,’ मन्त्री गुरूङले भने, ‘आईटीको कुनै बोर्डर छैन् । कुनै राष्ट्रियता छैन् । यसमा हामी सबै मिलेर काम गरौँ ।’

कार्यक्रममा आयोजक लिभिङ विथ आइसिटीका अध्यक्ष राजन लम्सालले डिजिटल इकोसिस्टम प्रवर्द्धन गर्न स्टार्टअप एण्ड आईडिया फेस्ट आयोजना गरिएको जानकारी दिँदै सरकारले पूर्वाधार विकास, नीतिगत सुधार र डिजिटल गभर्नेन्समा काम गर्दै यो क्षेत्रको विकासमा अग्रसर हुनुपर्ने सुझाव दिए ।

यस्तै, नेपाल उद्योग परिसंघको आईटी काउन्सिलका अध्यक्ष अजित शाहले स्टार्टअपको विकासका लागि सरकारले पछिल्लो समय केही प्रयास गरेको र त्यसलाई अझै बढाउनुपर्नेमा जोड दिए ।

त्यसैगरी, कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कर्मसको स्टार्टअप एण्ड आईडिया कमिटीका अध्यक्ष पंकज जलानाले डिजिटल भुक्तानीमा निःशुल्क हुनुपर्नेमा भ्याट लगाएर हतोत्साहित गर्ने काम भएको बताए ।

कार्यक्रममा बोल्दै टेकस्पायर कलेजका सीईओ तथा प्रिन्सीपल लक्ष्मण पोखरेलले स्टार्टअप र इन्नोभेसनमा काम गर्न चाहने विद्यार्थीलाई १ करोड बराबरको सिड फन्डिङको व्यवस्था गरेको र कलेजबाट वर्षमा कम्तिमा पनि १५ जना सीईओ उत्पादन गर्ने गरी अगाडि बढेको जानकारी दिए ।

यस्तै, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का सदस्य सचिव रविन्द्र ढकालले राज्यले गर्नुपर्ने काम निजी क्षेत्रले गरिरहेको बताउँदै स्टार्टअप इकोसिस्टममा विकासका लागि मुख्यगरी रिसर्च, इन्नोभेसन, इन्क्युबेसन र प्रवर्द्धनमा काम गर्नुपर्ने बताए ।

कार्यक्रममा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक ई. उमेश गुप्ताले ६ वटा प्रदेशमा उद्यम सम्बर्द्धन केन्द्र स्थापना गर्न लागेको र त्यसका लागि २०-२० लाख बजेट प्राप्त भएको बताए ।

यस्तै, क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले स्टार्टअप एण्ड आईडिया फेस्ट जस्ता कार्यक्रमले डिजिटल इकोसिस्टमलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी सल्लाहकार अस्गर अली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव प्रेम शरण श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल दत्त, पूर्वमन्त्री गणेश शाहलगायत सरकारी तथा निजी क्षेत्रबाट उच्च अधिकारीसहित विदेशी नियोगका प्रतिनिधिकोसमेत उपस्थिति रहेको थियो ।

शुक्रबारसम्म सञ्चालन हुने फेस्ट बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म निःशुल्क अवलोकन गर्न सकिने छ । १०० बढी डिजिटल स्टार्टअप र इन्नोभेसहरूको सहभागीता रहेको कार्यक्रममा स्टिम क्याम्प, रकेट साइन्स र रोबो सकरहरू सञ्चालन हुनेछन् ।

आइसिटी अवार्ड २०२४ को प्रि-इभेन्टको रूपमा आयोजना भएको फेस्टमा सातै प्रदेशबाट छनौट गरेर ल्याइएका ३० बढी स्टार्टअपका साथै आइसिटी अवार्ड २०२४ को प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट १० स्टार्टअप, १२ राइजिङ स्टार इन्नोभेसन तथा उत्कृष्ट १३ प्रडक्ट र सोसल इन्नोभेसनहरू प्रदर्शनीमा रहेका छन् ।

कार्यक्रमले डिजिटल स्टार्टअप तथा इन्नोभेसनहरूको नेटवर्किङ, प्रवर्द्धन र थप परिस्कृत गर्नमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । सूचना प्रविधिमा रूची राख्ने वा यस क्षेत्रमा काम गरिरहेका जो कोहीले पनि फेस्टको अवलोकन गर्न सक्ने छन् । फेस्टको पहिलो दिन डिजिटल इन्नोभेसनहरूलाई अवलोकनकर्ताको भीड रहेको छ ।

फेस्टमा सहभागि हुनुभन्दा अगाडि सातै प्रदेशका स्टार्टअप र आइसिटी अवार्डका सेमिफाइनलिष्टहरूलाई मेन्टरिङ, बुटक्याम्प र इण्डष्ट्री भिजिट जस्ता कार्यक्रम सञ्चालन भइसकेका छन् । सातै प्रदेशबाट छनौट गरिएको ल्याइएका स्टार्टअपहरुबाट हरेक प्रदेशका उत्कृष्ट एकएक स्टार्टअपलाई आइसिटी अवार्डको ग्राण्ड फिनालेमा सम्मान पनि गरिनेछ । अवार्डको ग्राण्ड फिनाले आगामी पुस ५ गते ह्यात रिजेन्सी बौद्धमा आयोजना हुँदैछ ।

अहिले आइसिटी अवार्ड २०२४ को लागि विभिन्न १४ विधामा छनौट प्रक्रिया सञ्चालन भइरहेको छ । फेस्टमै अवलोकनकर्तालाई अवार्डको स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार र सोसियल इन्नोभेसन विधाका मन परेका सेमिफाइनलिष्टहरूलाई भोट गर्न सकिने व्यवस्थासमेत गरिएको छ ।

लिभिङ विथ आइसिटीको आयोजना र द स्क्वाइड अफ चेन्जमेकरको सहआयोजनामा भएको स्टार्टअप एण्ड आईडिया फेस्टलाई टेकस्पायर कलेजले शीर्ष प्रायोजन गरेको छ ।