७ असार २०८३, आइतबार

मण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’को नियमित मञ्चन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कात्तिक । मानवीय संवेदना, सहअस्तित्व र प्रेमको कथा समेटिएको नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’को गत शनिबारदेखि मञ्चन भइरहेको छ । मञ्चनको पहिलो दिनदेखि नै दर्शकको भीड लागेको नाटक मण्डला थिएटर थापागाउँ, काठमाडौंमा मञ्चन भइरहेको हो ।

केदार श्रेष्ठको लेखन, परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकलाई दयाहाङ राईले निर्माण गरेका हुन् । नाटकमा कलाकार मेनुका प्रधान र कार्म अभिनय रहेको छ ।

यस नाटकले घटनाभन्दा पनि घटनाको प्रभावमा जन्मिएका मानवीय संवेदनाको कथालाई मञ्चमा उतारेको छ । सन्तान चाहनाको उत्कट उत्साह सङ्गालेका दम्पत्तिको जीवनमा आइपरेका जटिलता, आकांक्षा, आशा, वाध्यता, विवशता, विकल्प र विश्वास नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’को आवाज हो ।

नाटकको प्रतिक्रियासँगै उत्साहित लेखक, निर्देशक श्रेष्ठले ‘७२ मेगाहर्ज’को शीर्षक विम्वात्मक भएको उल्लेख गरे । उनले भने, ‘मानव ढुकढुकीको आराम अवस्थाको औसत दर प्रतिमिनेट ७२ ढुकढुक मुटुले रगत पम्प गर्दाको चाल मात्र नभई यो जीवनको विशाल आयतनको आवाज हो, अर्थात् जीवनको मेगाहर्ज हो ।’

त्यस्तै, निर्माता दयाहाङ राईले आफूले नाटक पढ्दा नै भुरुङ्ग बनाएको ‘ढुकढुकी ७२ मेगाहर्ज’ सिर्जनात्मक निर्माण गर्न पाउँदा खुशी रहेको सुनाए ।

नाटकको मञ्चदेखि, ध्वनि परिकल्पना, प्रकाश परिकल्पनामा मिहिन रुपमा सिर्जना गरिएको नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ मण्डला थिएटरले घोषण गरेको ७ नाटकमध्ये तेस्रो हो । नाटकमा कलाकार मेनुका र कार्मका साथमा भित्री मञ्चमा मनिष व्याञ्जु र आभा प्रधानको अभिनय छ ।

देव न्यौपानेको ध्वनि, घनश्याम श्रेष्ठको प्रकाश, रमिला नेम्कुलको भेषभुषा परिकल्पना रहेको नाटकको मञ्च परिकल्पना निर्देशक स्वयम्को रहेको छ । नाटक गत शनिबारदेखि मञ्चन सुरु भएको नाटक मंसिर १६ सम्म हरेक दिन साँझ ५ः३० बजे मञ्चन हुनेछ ।