१७ असार २०८३, बुधबार

रुपन्देहीमा चाङ्गान कम्पनीको दिपल इभी लन्च

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २६ कात्तिक । विश्वकै उत्कृष्ट चारपाङ्ग्रे सवारी उत्पादन गर्दै आएको चीनको चाङ्गान कम्पनीको दिपल इभी रुपन्देहीमा लन्च गरिएको छ ।

नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि र यस क्षेत्रको आधिकारिक बिक्रेता जेनस मोटर्सले इभीको नयाँ विकल्पका रूपमा डिपलका दुई मोडलका चारपाङ्ग्रे सवारी आइतबार औपचारिक रूपमा लन्च गरेका हुन् ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले डिपल एल जिरो सेभेन र डिपल एस जिरो सेभेन दुई सवारी लन्च गर्दै बजारमा इभी सवारीको क्रेज बढ्दो रहेको बताए । इभी गाडीको विश्वसनीयतालाई कायम राख्ने गरी बिक्रेताहरूले सेवा दिनुपर्ने उनले सुझाव दिए । स्थानीय पालिका इभीको सेवाप्रति सजग रहेको भन्दै चार्जिङ स्टेसनमा जोड दिएको उनले बताए । आम उपभोक्ताको माग र चाहनाअनुसार सेवामा ध्यान दिनुपर्ने भन्दै स्थानीय सरकार सहयोग र सहकार्य गर्न प्रतिबद्ध रहेको जनाए ।

कार्यक्रममा जेनस मोटर्सका प्रबन्ध निर्देशक क्षेत्रकुमार श्रेष्ठले संसारमै सबैभन्दा धेरै फिचर भएको सवारीका रूपमा चाङ्गान कम्पनीले पहिचान बनाएको दाबी गर्दै १६० वर्ष लामो इतिहास बोकेको कम्पनी भएको बताए । दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेस्ट र आउटडोर स्पिकरलगायत १५ भन्दा बढी फिचरहरू रहेको उनले बताए । अहिलेसम्मकै बढी ५४० किलोमिटर माइलेज यसमा रहेको छ । कात्तिक २७ गते बुटवलमा लुम्बिनी प्रदेशकै ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पको आयोजना क्लब डेनेभोमा गरिने उनले बताए ।

कार्यक्रममा डिपलको अनुभव साझा गर्दै उद्योगी विकास पाण्डेले ६ महिनाको अवधिमा नेपालका सडकहरूमा यो उपयुक्त लागेको बताए । यसअघि चलाएका सवारीभन्दा फरक अनुभूति पाएको उनले बताए । इन्धन सवारी छोडेर इभीमा आउँदा धेरै बलियो सोच बनाउनुपर्ने भन्दै यसको आकर्षक मोडलकै कारण रोजेको बताए ।

कार्यक्रममा एमएडब्लु ग्रुपका डिलर हेड सुरेन्द्र केसीले नेपालमा इभी कारको माग बढ्दो रहेको बताए । नेपालमा हाल कुल सवारीमध्ये ८० प्रतिशतभन्दा बढी इभी गाडी भित्रिएको उनले दाबी गरे । ‘भित्रिएका सवारी एउटै प्रकारका र गुणस्तरीय भने छैनन्,’ उनले भने । नेपालमा सवारी भित्र्याउँदा बिक्रीपछिको सेवामा जोड दिन जरुरी रहेको भन्दै उपभोक्ताले खरिद गर्दा समेत यसमा विशेष ध्यान दिन उनले सुझाव दिए । एमएडब्लु ग्रुप नेपालकै दोस्रो बढी सवारी भित्र्याउने र गुणस्तरीयताका रूपमा पहिचान बनाएको उनले दाबी गरे ।

६ महिनाअघि काठमाडौंमा लन्च भएको यो गाडी ६ सयभन्दा बढी बिक्री भएको छ । विश्वका ६ देशका १० सहरमा यो कम्पनीको उत्पादन बिक्री भइरहेको छ ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले हरित क्रान्तिको कुरा गरिरहँदा समयसापेक्ष यो सवारी भएको बताए । विद्युतीय ऊर्जा अबको समयको माग अनुसार विस्तारै बढेको भन्दै उनले नयाँ पुस्तामा इभी सवारी आकर्षक भएको बताए । राष्ट्रिय अर्थतन्त्रलाईसमेत उकास्न यो नयाँ प्रविधि उपयोगी हुने आशा उनले व्यक्त गरे ।

कार्यक्रममा सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठले अटो क्षेत्रमा नयाँ व्यवसायी भित्रिँदा आशा र ऊर्जा जागेको बताए ।