
-विजय थापा, अमेरिका, १६ कात्तिक । अमेरिकामा बसोबास गर्ने नेपालीले धुमधामसँग श्रद्धाभक्तिको साथ लक्ष्मीपूजा मनाएका छन् । अमेरिकामा भर्खर जाडो सुरु भएको र लक्ष्मीपूजा बिहीबार परेकाले शुक्रबार काममा पनि जानु पर्ने हुनाले विभिन्न राज्यहरुमा छिटै रात परेकाले धेरै जसो राज्यहरुमा लक्ष्मीपूजा सम्पन्न भइसकेको छ ।
अमेरिकाका विभिन्न राज्यहरुमा ३ घण्टाको समय फरक हुने केही राज्यका शहरहरुमा लक्ष्मीपूजा प्रारम्भ हुँदै गरेको अवस्था छ । अमेरिकामा नेपालमा जस्तै पूजा सामग्रीहरु प्राय हरेक ठाउँमा सर्वसुलभ तरिकाले पाइने हुनाले पूजा सामग्री, दियो, कलश, फलफूल, मिठाईलगायत सामग्रीहरु नेपाली समुदायले जुटाएका छन् ।
नेपालीहरुले आफ्ना घर आँगन अगाडि र कोठा भित्र पनि विभिन्न प्रकार र ढाँचाका रंगोली बनाई घर सजाएका छन् । नेपालकै झझल्को आउने झिलिमिली बत्ती बाली घर उज्यालो पारेका छन् । आफन्त र आफ्ना परिवारबीच आवतजावत गर्न सुरु भएकाले नेपालीहरुको दोस्रो महान चाड यस वर्ष तिहार उल्लासमय हुन सकेको छ । लक्ष्मीपूजाको दिन साँझ भएपछि ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मी पूजा पर्व मनाइएको छ ।
बिहीबार विशेषगरी घरका झ्याल, ढोका, कोठा, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिएको छ । अमेरिकामा पनि आँगनदेखि मूल ढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म चामलको पिठो र अवीरले लक्ष्मीको पाइला बनाएका छन् ।
अमेरिकामा आगलागीको डर हुनाले दियोमा बत्तीमा बाल्ने भन्दा मैनबत्ती बाल्ने प्रचलन भएकोले मैन बत्तीको प्रयोग ज्यादा गरेका छन् । अमेरिकामा बत्ती बल्दा घरमा जडान गरेको आगो लागेको सूचक यन्त्रले आवाज दिने हुनाले घर भित्र कम र बाहिर नै ज्यादा बालिने गरिन्छ । सोही अनुसार नेपालीहरुले मनाई रहेका छन् ।
दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाआरधना गरिन्छ । लक्ष्मी पूजापछि कन्या र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ ।
विगतका वर्षमा झैँ यस वर्ष पनि नजिकका साथीभाइ, आफन्तका घरमा देउसी भैलो खेलिएको छ ।









प्रतिक्रिया