६ असार २०८३, शनिबार

अब ‘नेपाल लाइफ पाठशाला’मा बीमा सेवा र सिकाई एउटै प्लाटफर्ममा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कात्तिक । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लर्निङ म्यानेजमेन्ट सिस्टम (नेपाल लाइफ पाठशाला)को अनावरण गरेको छ ।

आइतबार काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले प्लाटफर्ममा लगइन गरी लर्निङ म्यानेजमेन्ट सिस्टम (नेपाल लाइफ पाठशाला)को अनावरण गरेका हुन् ।

कार्यक्रममा नेपाल लाइफका उच्च पदस्थ अधिकारीहरु, पेशागत बीमा अभिकर्ता संघ नेपालका प्रतिनिधिहरू तथा पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले नेपालको जनसङ्ख्यामा युवा जनशक्तिको हिस्सा दक्षिण एसियामानै सबैभन्दा बढी भएको र यो ऊर्जावान शक्तिलाई उद्यमशीलतामा लगाउन सके देशको आर्थिक विकास सहजै हुने बताए । भूमण्डलीकरणको कारणले विश्व एउटा डिजिटल डिभाइसमा समेटिन पुगेको र यसको प्रयोग गर्दै आर्थिक स्वतन्त्रता प्राप्त गर्न सबै युवालाई उनले आग्रह गरे ।

नेपाल लाइफले ल्याएको यस प्लयाटफर्मका कारण अब घरै बसीबसी आफ्नो अनुकूल समयमा बीमा अभिकर्ताको तालिम लिन सकिने र यसले बीमाको प्रचारप्रसार तथा विस्तारमा अतुलनीय भूमिका निर्वाह गर्ने उनले बताए । हालको लागि नेपाल बीमा प्राधिकरणले तर्जुमा गरेको पाठ्यक्रमको आधारमा बीमा अभिकर्ताको आधारभूत तालिमको लागि श्रव्य दृश्यहरू निर्माण गरी सञ्चालनमा ल्याइएको र आगामी दिनमा कर्मचारीको सिप ज्ञान अभिवृद्धिका निम्ति पनि कार्यहरु थालनी गर्ने बताए । यसका साथसाथै उनले निकट भविष्यमा नै बीमाको महत्व र बीमा सम्बन्धी सम्पूर्ण जानकारीहरू एउटै प्लयाटफर्ममा उपलब्ध गराउने अभिप्रायका साथ यस प्ल्याटफर्मलाई सशक्त बनाउँदै जाने पनि बताए । सोही अवसरमा यस कम्पनीले बीमाको नवीकरण शुल्क दाखिला तथा बिमा योजनाअन्तर्गत लिएको कर्जाको भुक्तानी गर्नका निम्ति कम्पनीले सञ्चालनमा ल्याएको डाइनामिक क्यूआरको पनि प्रयोग गरी घरै बसीबसी सहजताका साथ भुक्तानी गर्न पनि सबैमा आग्रह गरे ।

कार्यक्रममा बोल्दै कम्पनीका नायब महाप्रबन्धक उमापति पोखरेलले पहिला भौतिक उपस्थितिमा तालिमहरू प्रदान गर्दै आएकोमा यस प्लाटफर्मले त्यो परिस्थितिको अन्त्य गरेको बताए । अब बीमा अभिकर्ता बन्ने दृढ इच्छाशक्ति भएको खण्डमा भौतिक तालिमनै लिन कुर्न नपर्ने र आफ्नो अनुकूल समयमा तालिम लिई बीमालाई नेपालीको घरघरमा पुर्‍याउन सकिने उनले बताए । उनले बीमा उद्योगमा यस्तो प्रविधिमैत्री प्ल्याटफर्मको विकास गर्ने पहिलो कम्पनीको रुपमा नेपाल लाइफ रहेको र यसले सम्पूर्ण नेपाल लाइफकर्मीलाई गौरवान्वित बनाएकोसमेत बताए ।

कार्यक्रममा तालिम विभागका प्रमुख रोजेश बस्नेतले प्लाटफर्मको उपयोगिता र प्रयोग गर्ने तरिकाको बारेमा आफ्नो प्रस्तुतिकरण गरेका थिथए । सूचना प्रविधि विभागका प्रमुख शरदचन्द्र प्याकुरेलले डाइनामिक क्युआरको प्रयोग कसरी गर्ने र त्यसको उपयोगितामाथि प्रकाश पारेका थिए ।

पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका सचिव तेजमणि शर्मा तिमल्सिनाले कम्पनीले सञ्चालनमा ल्याएको प्लाटफर्मले तालिम प्रक्रियालाई सहज बनाउने बताए । साथसाथै उनले आगामी दिनमा पनि प्रविधिमैत्री कार्यहरूमा नेपाल लाइफको अग्रसरता कायम रहनेमा आफू निर्धक्क रहेको बताए । । यस प्लाटफर्मले अभिकर्तालाई झन् सहज हुने उनले बताए ।

कार्यक्रममा बोल्दै पेशागत बीमा अभिकर्ता संघ नेपालका वरिष्ठ उपाध्यक्ष नारायण दाहालले प्रविधिमैत्री प्लाटफर्मको अनावरण समारोहमा आफू सामेल हुन पाएकोमा खुसी भएको बताए । विगतका कुराहरू स्मरण गर्दै उनले करिब दुई दशक अगाडि बीमा अभिकर्ताको तालिम नियामक निकायले मात्र प्रदान गर्ने गरेको र हालको दिनमा घरै बसीबसी तालिम लिन सक्ने अवस्थाको सिर्जना गर्न नेपाल लाइफ सफल भएकोमा कम्पनीको मुक्तकण्ठले प्रशंसा गरे । उनले आगामी दिनमा पनि ग्राहकको सेवालाई केन्द्रबिन्दुमा राखेर विभिन्न प्रविधि मैत्री कार्यहरू कम्पनीबाट हुनेमा पनि आशावादी रहेको बताए ।

कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले यस प्रविधिको निर्माणमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सामेल रहेका सबै पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गरे । इनोभेशनलाई केन्द्रबिन्दुमा राखेर कम्पनीको प्रक्रियालाई सहज सरल चुस्त र दुरुस्त बनाउन कम्पनी सदैव तयार रहेको र यस पथमा लम्की पनि रहेको उनले बताए । यसरी एक ढङ्गबाट दुई दशक पूरा गरिसकेको नेपाल लाइफ अहिले पनि स्टार्टअप कम्पनीको तौर तरिकाबाट सञ्चालन भइरहेको उनको भनाई थियो ।

प्रविधिको अभावमा अभिकर्ता तथा ग्राहकहरूले भोग्नुपरेको पिर मार्कालाई समाधान गर्न कम्पनी अहोरात्र लागिरहेको उनले बताए । प्रविधिमा आएको आमूल परिवर्तनलाई अङ्गीकार गर्न नसके कम्पनीले सोचे अनुसारको चौतर्फी विकास गर्न नसक्ने हुँदा कम्पनी सदैव एउटा सानो बच्चाको जस्तै जिज्ञासु भएर लागि परेकोसमेत कयालको भनाई थियो ।