१४ असार २०८३, आइतबार

अण्डाको मूल्य बढ्यो

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १२ कात्तिक । गत भदौ पहिलो सातादेखि अण्डाको मूल्य घटेपछि निराश बनेका किसान मूल्य वृद्धि हुन थालेसँगै उत्साहित बनेका छन् । किसानले लागत मूल्य नजिक बिक्री गर्न पाएका हुन् ।

नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार आजदेखि लागू हुने गरी चितवनलाई आधार मानेर ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) पाँच सय रुपैयाँ, मध्यम चार सय ८५ रुपैयाँ र ‘एक्सएल’ पाँच सय १५ रुपैयाँ कायम गरिएको छ । यसअघि गत साउन मसान्तमा यही दररेटमा अण्डा बिक्री भएकामा क्रमशः घटेर ठूलो अण्डा तीन सय ६० रुपैयाँ, मध्यम तीन सय रुपैयाँ र एक्सएल तीन सय ७५ रुपैयाँमा झरेको थियो ।

विगत दुई सातायता क्रमशः मूल्य बढ्न थालेको अध्यक्ष पोखरेलले बताए । लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा रहेको छ ।

पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले उत्पादन घटेको र माग बढेपछि पूर्ववत् अवस्थामा अण्डाको मूल्य आएको बताए । भदौ पहिलो साता दैनिक ३० लाख हाराहारी अण्डा उत्पादन हुने गरेकामा यो संख्या घटेर २२ लाख हाराहारीमा झरेको छ । उनको भनाइमा नोक्सान थपिँदै गएपछि धेरै किसान विस्थापित भएका छन् ।

उद्योग संघ चितवनका निवर्तमान अध्यक्षसमेत रहेका कुखुरापालक किसान त्रिलोचन कँडेल किसानले पालेका अण्डा उत्पादन हुने कुखुराहरु बिक्री भएको र नयाँ चल्ला हुर्किन नसक्दा उत्पादन घटेको बताउँछन् । कँडेलले ७५ प्रतिशत किसान विस्थापित भइसकेको उल्लेख गर्दै केही किसान फेरि व्यवसायमा फर्किएको बताए । लागत मूल्यभन्दा कममा अण्डा बिक्री गर्नुपर्ने अवस्था आएमा बाँकी किसान पनि विस्थापित हुने उनको भनाइ छ ।

उनले भने, ‘अण्डाको मूल्य बढ्दै गएपछि हामी जस्ता किसानमा केही आशा पलाएको छ ।’