२६ असार २०८३, शुक्रबार

अमेरिकामा बाना भवनको प्राङ्गणमा नेपाली, अमेरिकी र मेरिल्यान्ड झण्डा फहरायो

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-विजय थापा, अमेरिका, ११ कात्तिक । अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोरमा स्थापित चर्चित तथा अत्यन्त सक्रिय नेपाली गैरनाफामूलक सामाजिक संस्था (बाना) भवनको प्राङ्गणमा नेपाली, अमेरिकी र मेरिल्यान्डको झण्डा फहराइएको छ ।

गत अक्टोबर २६, २०२४ शनिबारका दिन नेपाली समुदाय र बानाका लागि ऐतिहासिक र अविस्मरणीय रह्यो । अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोर सहरमा रहेको नेपालीहरूको छाता संस्था बाल्टिमोर एसोसिएसन अफ नेपालिज इन अमेरिका (बाना) अमेरिकामा नेपाली समुदायको हकहितमा काम गर्ने अग्रणी संस्था हो ।

आफ्नो सामुदायिक भवनको प्राङ्गणमा नेपाल, अमेरिका तथा मेरिल्यान्ड राज्यको झण्डा फहराउने विशेष कार्यक्रममा बाना पदाधिकारीहरूसँगको भेटघाट कार्यक्रममा बानाका बारेमा संक्षिप्त जानकारी सूर्य तिमिल्सिना र हेमन्त तिमिल्सिनाले दिएका थिए ।

बाल्टिमोर काउन्टीका कार्यकारी अधिकारी जोनी ओ प्रमुख अतिथिका रूपमा रहेको विशेष कार्यक्रममा बानाका अध्यक्ष सुबोध विलास पन्तले नेपालको झण्डा, अमेरिकाकै इतिहासमा पहिलो पटक नेपाली मूलका मेरिल्यान्ड विधानसभा सदस्य ह्यारी भण्डारी र नगर परिषद् पदाधिकारी जुलियन ई. जोन्स जुनियरले मेरिल्यान्ड राज्यको झण्डा तथा प्रमुख अतिथि जोनी ओले अमेरिकी झण्डाको झण्डोत्तोलन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिलगायत अन्य अतिथिहरूले सम्बोधन गर्ने क्रममा यस ऐतिहासिक क्षणमा उपस्थित हुन पाउनु नै गौरवको विषय भएको बताए । कार्यक्रमको सञ्चालन बाना ट्रष्टीका अध्यक्ष कुलमणि आचार्यले गरेका थिए ।

यस ऐतिहासिक र अविस्मरणीय कार्यक्रममा सहभागी हुन प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा र मेरिल्यान्डका नेपाली समुदायका गण्यमान्य व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

को हुन् जोनी ओ ?

जोनी ओ एक अमेरिकी राजनीतिज्ञ तथा डेमोक्र्याटिक दलका सशक्त सदस्य हुन् । जोनी ओ सन् २००६ देखि २०१५ सम्म छैटौँ जिल्लाका पूर्वविधानसभा सदस्य अर्थात् सांसद भई काम गरिसकेका छन्।

उनी काउन्टी कार्यकारीको साथै मेरिल्यान्ड राज्यको निर्वाचन क्षेत्र २ का लागि आगामी नोभेम्बर ५, २०२४ का दिन हुने चुनावमा अमेरिकी प्रतिनिधि सभाका लागि आधिकारिक उम्मेदवार हुन् । उनले प्राथमिक निर्वाचनमा अन्य उम्मेदवारहरूलाई हराउँदै डेमोक्र्याटिक दलका उम्मेदवार बन्न सकेपछि उनको भिडन्त अहिले रिपब्लिकन दलका किम क्लासिकसँग हुँदैछ ।

जोनी ओको चुनाव क्षेत्र २ निकै राम्रो अवस्थामा रहेकोले २०२५ का लागि अमेरिकी तल्लो सदन अर्थात् प्रतिनिधि सभाका सदस्यमा विजयी हुने सम्भावना ज्यादा रहेको छ ।