७ श्रावण २०८३, बिहिबार

नयाँ नेपाली मोडल खोज्न ‘फेस अफ क्लासिक डायमण्ड’ को घोषणा, आजबाटै रजिस्ट्रेशन खुल्ला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ कार्तिक । नेपालको चर्चित हिरा ब्रान्ड क्लासिक डायमण्डले यसपटक पनि ‘फेस अफ क्लासिक डायमण्ड’ले पाँचौँ सिजन आयोजना गर्ने घोषणा गरेको छ ।

काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा क्लासिक डायमण्डका अध्यक्ष बाबुराजा महर्जनले आगामी माघ ४ र ५ गते काठमाडौंमा ‘फेस अफ क्लासिक डायमण्ड’को पाँचौँ सिजन आयोजना हुने जानकारी दिए । उनका अनुसार, प्रतियोगितामा उत्कृष्ट मोडलले फेस अफ क्लासिक डायमण्डको उपाधिसहित १ लाख ५० हजार रुपैयाँ र एक वर्षसम्म क्लासिक डायमण्डको ब्रान्ड एम्बेस्डरको जिम्मेवारी पाउने छन् ।

यस्तै उनले बलिउडमा पनि आफ्नो प्रस्तुति दिने अवसर पाउने छन् । यस प्रतियोगितामा सहभागी हुन आजबाट नै रजिस्ट्रेशन खुल्ला गरिएको छ । विगतमा यो प्रतियोगिताकी विजेता साम्राज्ञी राज्यलक्ष्मी शाहले नेपाली चलचित्रमा, अञ्जली लामाले न्युयोर्क फेशन सप्ताहमा, मुना गौचनले बलिउडमा आफूलाई स्थापित गरिसकेको पनि अध्यक्ष महर्जनले जानकारी गराए । ‘क्लासिक डायमण्ड गहनासँग सम्बन्धित भएकाले हामीले यो कार्यक्रमबाट नेपालको फेशन र मोडलिङ क्षेत्रलाई पनि प्रवर्द्धन गर्दै आएका छौँ,’उनले भने ।

प्रतियोगिताको लागि नेपालमा काठमाडौं र पोखरामा अडिसन गरिने क्लासिक डायमण्डका प्रबन्ध निर्देशक अमिर महर्जनले जानकारी गराए । ‘नेपालका अडिसन पछि हामी अडिसनमा चयन भएका मोडलहरूलाई करिब एक महिना विभिन्न प्रशिक्षण दिनेछौँ । त्यसपछि प्रतियोगीबाट विजेताहरूसहित उत्कृष्ट १० प्रतियोगीलाई क्लासिक डायमण्ड फेशन तथा ज्वेलरी शोमा उतार्ने छौँ,’ उनले भने ।

अमेरिकामा समेत तीन वटा आउटलेट चलाउँदै आएको क्लासिक डायमण्डले अमेरिकामा रहेका नेपाली मोडलहरुबीच पनि अडिसन लिनेछ। सो अडिसनबाट चयन भएका मध्य दुई मोडललाई नेपाल ल्याएर ‘फेस अफ क्लासिक डायमण्ड’ को प्रतिस्पर्धामा उतार्ने क्लासिक डायमण्डका अमेरिका संयोजक समीर महर्जनले जानकारी गराए । ‘अरूले नेपालबाट मोडलहरूलाई अमेरिका पठाउँछन् । तर हामीले यो प्रतियोगिताको लागि दुई जना नेपाली मुलकी मोडललाई अमेरिकाबाट नेपाल पठाउँछौँ।’

‘फेस अफ क्लासिक डायमण्ड’को विजेताले एक लाख ५० हजार रुपैयाँ, फस्ट रनरअपले एक लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । उनीहरूले क्लासिक डायमण्डको विभिन्न परियोजनामा जोडिएर काम गर्ने अवसर पनि पाउने बताइएको छ । क्लासिक डायमण्डको ग्रान्ड फेशन तथा ज्वेलरी शो आगामी ४ र ५ माघमा काठमाडौंमा हुनेछ । सोही कार्यक्रममा ‘फेस अफ क्लासिक डायमण्ड’का विजेताहरूलाई पुरस्कृत गरिनेछ । प्रतियोगितालाई बलिउडका कोरियोग्राफर रेहान शाहले कोरियोग्राफी गर्नेछन् ।

पत्रकार सम्मेलनमा पूर्वमिस नेपाल माल्भिका सुब्बाले ‘फेश अफ क्लासिक डायमण्ड’ प्रतियोगिताले नेपालमा धेरै राम्रा मोडलहरूलाई यो क्षेत्रमा ल्याएको बताइन् । यो प्रतियोगिताका धेरै विजेता तथा सहभागीहरूले मिस नेपाललगायत विभिन्न प्रतियोगितामा भाग लिएर उपाधिसमेत जितेको उनको भनाइ छ ।

अर्की पूर्व मिस नेपाल अस्मी श्रेष्ठले पनि ‘फेस अफ क्लासिक डायमण्ड’ प्रतियोगितामा जोडिन पाउँदा खुशी लागेको बताइन् । करिब ६ महिनाको तयारीबाट यसले नयाँ मोडलहरूलाई निखारेर मोडलिङ क्षेत्रमा ल्याउने गरेको उनको भनाइ छ । अन्तर्राष्ट्रिय राष्ट्रिय मोडल सविता कार्कीले पनि ‘फेस अफ क्लासिक डायमण्ड’सँगको अनुभव सुनाएकी थिइन् ।