
काठमाडौं, ८ कात्तिक । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
बैंकले बुधबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार एक अर्ब ५१ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.३६ प्रतिशत बढी हो । अघिल्लो वर्ष बैंकले एक अर्ब २२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद नाफामा भएको यस वृद्धिको मुख्य कारण इम्पेरमेन्ट चार्जमा आएको कमी हो । समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज एक अर्ब ७८ करोडबाट घटेर एक अर्ब सात करोडमा झरेको छ । तर, बैंकको खुद ब्याज आम्दानीमा १४.२२ प्रतिशतको गिरावट आएको छ । यद्यपि, खुद फि तथा कमिशन आम्दानीमा २१.१४ प्रतिशतको वृद्धि भएको छ ।
बैंकको सञ्चालन मुनाफामा १९.४० प्रतिशतको वृद्धि भएको छ । नाफा वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३ पैसाले बढेर १६ रुपैयाँ ७४ पैसा पुगेको छ ।
गत असोजसम्म बैंकको प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ २० पैसा कायम रहेको छ भने मूल्य आम्दानी अनुपात १५.७१ गुणा रहेको छ ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा एक अर्ब ९१ करोड रुपैयाँ रहेको छ । यसअनुसार वितरणयोग्य प्रतिशेयर आम्दानी १४ रुपैयाँ १८ पैसा पुगेको छ । साथै, पहिलो त्रैमासमा ग्लोबल आईएमई बैंकले जगेडा कोषमा ७.८४ प्रतिशतको वृद्धि गर्न सफल भएको छ ।








प्रतिक्रिया